कोरोना भाइरस रोकथामका लागि धनुषामा सवा करोड महादेवको पूजा

कोरोना भाइरस रोकथामका लागि धनुषामा सवा करोड महादेवको पूजा

धनुषा । कोरोना महामारी नियन्त्रण भन्दा बाहिर गई हजारौको मृत्यु भएको भन्दै विश्व कल्याणार्थमा जनकपुरधाममा महामृत्युञ्जय मन्त्र जाप अनुष्ठान सम्पन्न भएको छ ।

जनकपुरधाम वडा नम्बर ७ स्थित कैथबनिया कुट्टीमा जेठ ६ गते बिहीबारदेखि सवा करोड महादेवको पूजा गर्दै महामृत्युञ्जय मन्त्र जाप हवनसङ्गै समापन भएको हो ।

जनकपुरधाममा कोरोना संक्रमण पहिलो र दोश्रो चरण नसकिदै तेस्रो चरणमा प्रवेश गर्न लागेको भन्दै यसको रोकथाम तथा नियन्त्रण सरकारीस्तरबाट पनि ठोस ढङ्गले नभईरहेको बेला कोरोनाबाट मुक्ति दिलाउन एवं समाज कल्याणार्थका लागि यो कार्यक्रमको आयोजना गरिएको हो ।

कुट्टीका महन्थ सुरज बाबाको आयोजना र वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहको संयोजनमा श्रीङ्गार कुञ्ज कैथबनिया कुट्टीमा विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणबाट मुक्ति मिलोस भन्ने कामना सहित महामृत्युञ्जय मन्त्र जाप आरम्भ गरिएको थियो ।

सोही अनुष्ठानको आज ११ औं दिन समापन गरिएको हो । समग्र विश्व कोरोना संक्रमणको चपेटामा परेको र हजारौको मृत्यु भएपनि सरकार आमजनतालाई स्वास्थ्य राख्न सक्षम नभएकोले धार्मिक अनुष्ठानको आयोजना गरिएको कार्यक्रम संयोजक वडाध्यक्ष साहले बताए ।

अनुष्ठानमा सामाजिक दुरी कायम गर्दै मास्क लगाएर स्वास्थ्यका मापदण्डहरु पालना गरि श्रद्धालुहरु दर्शन गर्न आएको उनले बताए ।