वैशाखदेखि जेठको दोस्रो सातासम्म कञ्चनपुरमा तीन हजारमा कोरोना संक्रमण

वैशाखदेखि जेठको दोस्रो सातासम्म कञ्चनपुरमा तीन हजारमा कोरोना संक्रमण

कञ्चनपुर: वैशाख महिनादेखि जेठको दोस्रो सातासम्म कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ४८ जना प्रभावित भएका छन्। 

सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट दुई हजार ५०७ जना सङ्क्रमणमुक्त भएका छन्। स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट धेरै जनामा सङ्क्रमण देखा परेको हो। पिसिआर परीक्षण चार हजार ४७१ जनाको गरिएको छ। 

यसमध्ये पिसिआर गरिएकामध्येको तीन हजार ९५० जनाको नतिजा प्राप्त भएको छ। आठ हजार ८९ जनाको पश्चिमी सीमा नाका गड्डाचौकीमा एन्टिजेन परीक्षण गरिएकामा यसमध्ये ५१७ जनाको नतिजा पोजेटिभ आएको छ। कोरोना सङ्क्रमण सुरु भएदेखि हालसम्म २१ हजार ८४ जनाको पिसिआर परीक्षण गरिएको छ। यसमध्ये छ हजार ७८० जनाको नतिजा पोजेटिभ आएको थियो।

सोही अवधिमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच हजार ९९१ जना रहेको छ। हाल कोरोना भाइरसका सक्रिय केस ६१३ रहेका छन्। आइसोलेशनमा रहेकाको सङ्ख्या ९२ र होम आइसोलेशनमा रहेकाको सङ्ख्या ५१५ रहेको छ। आइतबार कञ्चनपुरमा ४२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या १८९ रहेको छ। 

हालसम्म कोरोनाको सङ्क्रमणबाट कञ्चनपुरमा ९४ जनाको मृत्यु भएको छ ।