मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षा हुने

मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षा हुने

काठमाण्डौ-प्रदेश-१ र २ तथा सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् । भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि(मनसुनको गतिविधिका कारण यी तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

प्रदेश(१ र २ मा हल्का वर्षा भएको छ भने सुदूरपश्चिमका जिल्लामा मध्यम खालको वर्षा भइरहेको उहाँले बताउनु भयो । अहिले कैलाली र कञ्चनपुरमा वर्षा भइरहेको पनि मौसमविद् श्रेष्ठले जानकारी दिए । आज दिनभरि नै वर्षा नभए पनि यी क्षेत्रको मौसम बद्ली रहने उनले बताए । भोलि पनि यी तीन प्रदेशको मौसम यस्तै रहने अनुमान छ ।

काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी प्रदेशका धेरै ठाउँमा भने यतिबेला घाम लागेको छ । यी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली रहने मौसमविद्ले बताएका छन् । प्रि-मनसुनका कारण काठमाण्डौ उपत्यकालगायत पहाडी क्षेत्रका दिउँसोपछि मेघगर्जन र चट्याङ्गसहित फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन्  ।

भोलि र पर्सि पनि पहाडी क्षेत्रको मौसम सामान्य बद्ली भइ फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । उहाँका अनुसार अहिले प्रि(मनसुन बाहेक अन्य प्रणालीको प्रभाव नपरेकाले ठूलो पानी पर्ने सम्भावना भने छैन ।

यसैबीच, मौसमविद्ले यसपालि समयमा नै मनसुन भित्रिने बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रने गर्दछ । यसपालि जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । मौसमविद्ले यसपालिको मनसुनमा धेरै पानी पर्ने अनुमान गरेका छन् ।