मारमा किसानः मल, बीउ र डिजेलको जोहो गर्न धौ धौ

मारमा किसानः मल, बीउ र डिजेलको जोहो गर्न धौ धौ

कैलालीको भजनी थापापुरका शंकर चौधरीले धानको ब्याडका राख्न उन्नत जातको बीउ पाउन सकेका छैनन । गाउँबाटै धानको परम्परागत बीउ लिएर उनले ब्याड राखे । अहिले उनलाई डिजेल र मलको जोहो गर्न सकस परिरहेको छ । ‘उन्नत जातको धानको खेती गर्न बीउ नै पाइनँ,’ उनले भने, ‘एकसरो खेत जोत्नलाई ट्याक्टरका लागि डिजेल पनि पाउन सकिरकेका छैनौं ।’

नजिकको पेट्रोल पम्पमा बिहानबेलुका धाउँदा पाउन नसकेको उनले बताए । निषेधाज्ञाका कारण टीकापुर, पूर्वपश्चिम राजमार्ग आसपास र सदरमुकाम धनगढीका पेट्रोल पम्पबाट डिजेल ल्याउन नसकिएको उनले बताए । उनले ट्र्याक्टर चलाउन अनुमति पाउन नसक्दा पनि डिजेल भर्न लैजान नपाएको सुनाए । त्यस्तै असारको पहिलो सातामै रोपाइँ सुरु भइसक्ने भएकाले मल पनि अहिल्यै खोज्न थालेको बताए ।

थापापुरका गंगा चौधरीलाई अहिले पानी परिरहेकाले एकसरो खेत जोत्नका लागि राम्रो मौसम भएको छ । ‘आकासे पानीको भरमा खेती गरिने किसानलाई धानको ब्याड राख्न पनि अहिले पानी राम्रो नै मानिन्छ,’ उनले भने, ‘तर किसानले मल, डिजेल र बीउ पाउन सकिरहेका छैनन ।’ गाउँघरका एग्रोभेट र सहकारी संस्थाहरूमा मल र बीउ नपाइने गरेको उनले सुनाए । टीकापुर र धनगढी निषेधाज्ञाका कारण किसान जान सकेका छैनन । निषेधाज्ञाले किसानलाई कामदार लगाएर काम गराउन पनि मुस्किल भएको उनले बताए । ‘काम गर्ने मजदुर पनि पाउन गाह्रो भएको छ,’ अर्का किसान पीताम्बर डगौराले भने, ‘खेतीपातीको काममा संलग्न साधन र मान्छेहरूलाई निषेधाज्ञा खुकुलो पार्न जरुरी छ ।’

कैलालीमा ७२ हजार हेक्टरभन्दा बढी जमिनमा धान खेती गरिँदै आएको छ । हरेक वर्ष कैलालीका किसानले मल, डिजेल र बीउबिजनको समस्या व्यहोर्दै आएका छन् । गत वर्षदेखि लकडाउनको कारण खेतीपातीको काममा झनै अप्ठ्यारो भएको किसानले बताएका छन । हसुलियाका देवानन्द जैसीले साना किसानले पहिलेको जस्तो घरमै बीउबिजन भण्डारण गरेर नराख्ने गरेको उल्लेख गरे । उनले पछिल्लो समयमा किसान उन्नत जातको बीउ खोज्ने भएकाले यसको अभाव भएको बताए । ‘स्थानीय एग्रोभेटमा बीउ नपाएपछि स्थानीय पुरानो धानको बीउ लगाउनुपरेको छ,’ उनले भने ।