आजदेखि लुम्बिनी प्रदेशको बजेट अधिवेशन

आजदेखि लुम्बिनी प्रदेशको बजेट अधिवेशन

लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारको सिफारिसअनुसार आज दिउँसो १ बजेका लागि प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका हुन् । 

लुम्बिनी प्रदेशको सरकार गठन प्रक्रियामा असमति जनाउँदै मुख्यमन्त्री शंकर पोखरेललाई सार्वजनिक कार्यक्रममा बहिस्कार गर्ने निर्णय गरेका विपक्षी गठबन्धनलाई समेत सहमत गराउँदै सरकारले बजेट अधिवेशन आह्वान गरेको हो ।

आजबाट सुरु हुने प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षसहितको विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि उठेको प्रश्न र मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा विषय मुख्य रुपमा उठाउने नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए ।

प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखले सभा सञ्चालनसम्बन्धी पठाएको पत्र पढेर सुनाउने, मन्त्रिपरिषद् हेरफेरको जानकारी, प्रदेशसभाका दुई सदस्यले पदबाट दिएको राजीनामासम्बन्धी जानकारी र दलका प्रमुख नेताहरुले शुभकामना दिने कार्यसूची छ ।

प्रदेशसभामा एमालेबाट निर्वाचित कपिलबस्तुका दृगनारायण पाण्डे र दाङका अमर डाँगीले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए । त्यसको जानकारी पनि आजको बैठकमा दिने गरी कार्यसूची राखिएको छ ।