फुटबल टोली कुवेतमा

फुटबल टोली कुवेतमा

कुवेत पुगेलगत्तै नेपाली टोलीको पीसीआर परीक्षण गरिएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू प्रशिक्षणमा जुटेका छन्। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोटअन्तर्गत बाँकी खेलका लागि नेपाली टोली कुवेत पुगेको हो।

नेपाली टोलीले बिहीबार विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दैछ। त्यसअघि नेपाली टोलीले कुवेतमै तयारी गर्नेछ। नेपालले घरेलु मैदानमा खेल्नुपर्ने विश्वकप छनोटका खेलहरू कोरोना महामारीका कारण कुवेतमा हुन लागेको हो। नेपालमा कोरोना महामारी बढेपछि एसियाली फुटबल महासंघ (एएफसी) ले सेन्ट्रल भेन्युका रूपमा कुवेतमा खेलाउन लागेको हो।

विश्वकप छनोटअन्तर्गत एसियाली छनोटका नेपालले तीन खेल्न बाँकी छ। नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग एक÷एक खेल खेल्न बाँकी छ। विश्वकप छनोटअन्तर्गत नेपालले आठ खेलमध्ये पाँच खेल खेलिसकेको छ। नेपालले यसअघिका खेलमा चाइनिज ताइपेईलाई मात्र २–० गोलले हराएको थियो। नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० र दोस्रो खेलमा १–० गोलले पराजित भएको थियो। नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो। अहिले समूहमा १२ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ। कुवेत १० अंकसहित दोस्रो, १० नै अंक बनाएको जोर्डन तेस्रो, नेपाल तीन अंकसहित चौथो र अंक जोड्न नसकेको चाइनिज ताइपेई पुछारमा छ। नेपालले जुन ७ मा जोर्डन र जुन ११ मा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्नेछ।

नेपाली टोलीका मुख्य प्रशिक्षक कुवेतका अब्दुल्लाह अलमुताइरीले टोलीमा व्यापक परिवर्तन गरी युवा खेलाडीलाई मौका दिएका छन्। उनले औसतमा २३ वर्षका खेलाडी लिएर कुवेत पुगेका छन्। उनले गत चैतमा थ्री नेसन्स कप जित्दाको टोलीका १३ खेलाडी परिवर्तन गरेका थिए। नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की छन्। यस्तै रक्षकमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन्। यसैगरी मिडफिल्डरमा विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनील बल, सुरज ठकुरी, पूजन उपरकोटी र आयुष घलानलाई छन्। स्ट्राइकरमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा छन्।

गोलरक्षक विशाल सुनार, दीप कार्की, मिडफिल्डर कमल थापा, सुरज ठकुरी र आयुष घलानले राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी छ। मिडफिल्डर मनीष डाँगी र रक्षक गौतम श्रेष्ठले भने शनिबार भएको इराकविरुद्धको खेलमा डेब्यु गरेका थिए। उक्त खेलमा मनीषले एक गोल पनि गरेका थिए। उनी डेब्यु खेलमै गोल गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन्।

विश्वकप छनोटको अघिल्लो चरणमा पुग्ने नेपालको सम्भावना गणितीय रूपमा मात्र बाँकी छ। शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले १२ अंक जोड्दा चौथो स्थानमा रहेको नेपालको तीन अंक मात्र छ।