कैलालीको लम्कीमा जनप्रतिनिधिबाटै निषेधाज्ञाको उल्लंघन: उद्धघाटन कार्यक्रममा समेत उपस्थित भय मेयर र वडाध्यक्ष

कैलालीको लम्कीमा जनप्रतिनिधिबाटै निषेधाज्ञाको उल्लंघन: उद्धघाटन कार्यक्रममा समेत उपस्थित भय मेयर र वडाध्यक्ष

 कैलालीमा जनप्रतिनिधिहरुबाटै प्रशासनको आदेशको उल्लंघन गरिएको पाईएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाइँ र वडा नम्बर १ का वडाध्यक्ष जनक बमले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् ।

बिहीबार बिहान लम्कीचुहा वडा नम्बर १ मा रहेको नव निर्मित बसपार्कको र वडा नम्बर १ को कार्यालय भवन र स्वास्थ्य इकाइ केन्द्रको भवन उद्घाटनमा सहभागी भएका हुन् । लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जनक बमले भने स्वास्थ्य मापदण्डनै अपनाएर कार्यक्रम सञ्चालन गरिएको दाबी गरे । यता कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जनप्रतिनिधिहरुबाट निषेधाज्ञाको उल्लङ्घन हुनु दुःखद पक्ष भएको बताए ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बिहीबार मात्रै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने आदेश जारी गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशमा निषेधाज्ञा अवधिभर कुनै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमीनार तथा मानिसको भीडभाड हुने कार्यक्रम गर्न नपाइने उल्लेख गरिएको छ। तर प्रशासनको आदेश विपरीत मानिसहरु भेला गराएर उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् ।