विश्वकप छनोट : अर्जेन्टिना चिलीसँग रोकियो

विश्वकप छनोट : अर्जेन्टिना चिलीसँग रोकियो

फिफा विश्वकप कतार २०२२ अन्तर्गत दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।

शुक्रबार विहान भएको खेलमा अर्जेन्टिमा चिली १/१ गोलको बराबरीमा रोकेको हो । दुवै गोल पहिलो हाफमा भएको थियो ।

खेलमा अग्रता अर्जेन्टिनाले लियो । खेलको २४ औँ मिनेटमा कप्तान लिओनल मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्समा लोउटारो मार्टिनेजलाई गुइलेर्मो मारिपानले फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै अर्जेन्टिनालाई पेनाल्टी प्रदान गरेको थियो ।

३६औं मिनेटमा साञ्चेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । एरानगुइजको लामो फ्रिकिकमा गारी मेडेलले उपलब्ध गराएको पासमा अनमार्क रहेका उनले सहजै गोल गरेको थिए । दोस्रो हाफमा दुवै टोलीबाट गोलको प्रयास भएपनि सफल हुन नसक्दा खेल बराबरीमा टुंगियो ।

अंक तालिकामा ब्राजिल लगातार चार जितसहित १२ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको अर्जेन्टिनाको ५ खेलबाट ११ अंक छ ।

तेस्रो स्थानको इक्वेइडरको ४ खेलबाट ९ अंक छ भने पाराग्वे ५ खेलबाट ७ अंक जोडेर चौथो स्थानमा छ। पाँचौ स्थानको उरुग्वेको पनि ७ अंक नै छ । चिली ५ खेलबाट ५ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।