स्थिर सरकार ? तीन वर्षमा १८ पटक मन्त्रिपरिषद् हेरफेर

स्थिर सरकार ? तीन वर्षमा १८ पटक मन्त्रिपरिषद् हेरफेर

स्थिर सरकारको प्रतिबद्धतासहित ३ फागुन ०७४ मा प्रधानमन्त्री बनेका केपी ओलीले तीन वर्ष दुई महिनामा १८ पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।

उनले प्रधानमन्त्री पदको सुरक्षालाई मात्र ध्यान दिएर मन्त्रिपरिषद् हेरफेर गरिरहेका छन् । ओली लोकतन्त्रमा कमसल वा अब्बल र टाढा वा निकटका कुनै पनि मन्त्री कुनै पनि वेला हट्न सक्छन्, ओली स्वयं मात्र निर्विकल्प छन् ।

सुरुमा झन्डै दुईतिहाइ बहुमतको प्रधानमन्त्री बनेका ओली पछिल्लोपटक ३० वैशाख ०७८ मा संसद्मा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको प्रधानमन्त्री बनेका थिए । तर, उनले विश्वासको मत नलिई ८ जेठमा संसद् विघटन गरेपछि उनी कामचलाउ सरकारको प्रधानमन्त्री बनेका छन् ।

सरकार कामचलाउ भए पनि मन्त्रिपरिषद् पुनर्गठन भने जारी छ । ३ फागुन ०७४ मा प्रधानमन्त्री भएका ओलीसँगै जनसंख्या तथा वातावरणमन्त्रीका रूपमा लालबाबु पण्डित र महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको रूपमा थममाया थापाले शपथ लिएका थिए ।

१४ फागुनमा उनले चार मन्त्री थपेका थिए । ईश्वर पोखरेलले रक्षा, रामबहादुर थापाले गृह, मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्ति र डा। युवराज खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए ।