मन्त्रिपरिषद् विस्तारको पुनः तयारी, सुदूरपश्चिमबाट रानाको चर्चा

मन्त्रिपरिषद् विस्तारको पुनः तयारी, सुदूरपश्चिमबाट रानाको चर्चा

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्यलाई पुनः तीव्रता दिएका छन् । आफूसँग थप सात मन्त्रालय राख्नुभएका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गरिरहेको बताइएको छ ।

आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा एमाले बाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री लागेको एमालेका नेताहरूले बताएका छन् । नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरूसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरू सहमतिमा आएमा उनीहरूलाई समेत मन्त्री बनाउने सोच प्रधानमन्त्रीको छ । तर अहिलेसम्म संवादले सार्थकता पाउन सकेको छैन ।
भोलि शपथ खान सक्ने सम्भावित मन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी, नारद मुनी रानाको नाम अग्रपङ्तिमा छ । प्रधानमन्त्रीका विश्वासिलो पात्रकोरुपमा परिचित बस्नेत मन्त्री हुनुभएमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा आउने सम्भावना रहेको ती नेताले जानकारी दिए ।

सोहीअनुसार यसअघि परराष्ट्रमन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली पुनः मन्त्रीमा दोहोरिने सम्भावना रहेको एमालेबृत्तमा चर्चा छ । प्रदीप ज्ञवाली दोहोरिनु भएमा उहाँलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री ओलीले गरेको बुझिएको छ । यसअघि स्वास्थ्य मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका खगराज अधिकारी पनि गृह मन्त्रालयको इच्छा व्यक्त गरेको एमाले स्रोतले बताएको छ ।

नारद मुनी राना कैलाली क्षेत्र नं ५ बाट प्रत्यक्ष निर्वाचित सांसद थिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका धर्मपत्नी आरजु देउवा राणालाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने माग एमाले भित्र सुरुदेखि नै छ । तर उनले अहिलेसम्म अवसर प्राप्त गर्न सकेका छैनन्। सम्भवतः भोली शपथ खानुहुने मन्त्रीमा रानाको नाम सुनिश्चित हुने बुझाई एमाले नेताहरूको छ । थारु समुदायलाई पनि मन्त्रिपरिषद्मा समेट्नुपर्ने माग रहेकाले रानाको सम्भावना बलियो भएको धेरैको बुझाई छ । यद्यपि राना समुदायले थारु समुदायबाट आफूलाई अलग सूचीकरण गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ जना मन्त्री बनाए पनि उनकै कार्यकालमा अहिले सुदूरपश्चिम प्रदेश मन्त्री विहीन भएको छ। त्यस कारण पनि प्रदेशले एक वा दुई मन्त्री पाउने बताइएको छ । यस्तो अवस्थामा कैलालीबाट राना मन्त्री बन्ने सम्भावना बढि रहेको एमाले स्रोतको दाबी छ ।