वीरगञ्जमा असार १ गतेदेखि विद्यालय सञ्चालन हुने

वीरगञ्जमा असार १ गतेदेखि विद्यालय सञ्चालन हुने

वीरगञ्जमा असार १ गतेदेखि विद्यालय सञ्चालन हुने भएको छ । बिहीबार बसेको नगर शिक्षा समितिको बैठकले बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्मको कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले असार १ गतेदेखि विद्यालय सञ्चालन गर्नेबारे सबै सामुदायिक तथा नीजि विद्यालयहरुमा पत्राचार गरिसकिएको जानकारी दिए । उनले विद्यालय सञ्चालन गर्न ७ वटा शर्तहरु पालना गर्नुपर्ने बताए ।

विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नु पर्ने लगायत शर्तहरु रहेका छन् ।

वीरगञ्ज महानगरमा निजी र संस्थागत गरी २०० हाराहारीमा विद्यालय छन् । पछिल्लो समय वीरगञ्जमा कोरोना संक्रमणदर घट्दै गइरहेको छ ।