प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आज सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आज सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज पुनः सुनुवाइ हुँदै छ । आज (आइतबार) गठन हुने संवैधानिक इजलासले नै उक्त मुद्दामा सुनुवाइ गर्ने बताइएको छ ।

यसअघि गठित संवैधानिक इजलासमाथि प्रश्न उठेपछि उक्त सुनुवाइ रोकिएको थियो । नेकपाको एकता खारेजीको फैसला गर्ने न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ उक्त इजलासमा बसेपछि हटाउनुपर्ने आवाज उठेको थियो । त्यसपछि प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाले वरिष्ठताको आधारमा नै संवैधानिक इजलास पुनर्गठन गरेर सुनुवाइ अघि बढाउने बताउनुभएको थियो ।

संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधन गर्ने सहमति भए पनि शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकमा यसबारे छलफल समेत गरिएन । तर त्यस दिन वरिष्ठताकै आधारमा प्रन्या राणाले नागरिकता अध्यादेशविरुद्ध रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन गर्नुभएको थियो ।

शुक्रबार पुनर्गठन गरिएको इजलासमा न्यायाधीशरू दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई वरिष्ठताका आधारमा राख्नुभएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित ५ जना रहने व्यवस्था छ । तर इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश विश्वम्भर श्रेष्ठ बस्न पाउने भए तापनि उहाँ अस्वस्थ रहेका कारण सट्टामा ईश्वरप्रसाद खतिवडालाई ल्याइएको थियाे ।

आज संवैधानिक इजलास पुनर्गठन हुन्छ या शुक्रबारको सोही इजलासले सुनुवाइ गर्छ भन्नेबारे केही खुलाइएको छैन । यसमा पनि अहिले कानुनविदहरूकाे चासाे छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध २६ वटा र प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट ४ वटा गरी ३० रिट सर्वाेच्च अदालतमा दर्ता गरिएका छन् । ती सबैकाे सुनुवाइ संवैधानिक इजलासमा नै हुनेछ ।