कञ्चनपुरमा प्रबल खेतीमा स्थानिय

कञ्चनपुरमा प्रबल खेतीमा स्थानिय

कृषि उत्पादन क्षेत्रमा हेर्ने हो भने भारतको भर पर्ने जिल्ला हो कञ्चनपुर  । वर्षेनी जिल्लालाई चाहिने तरकारी सिजनमा होस् कि अफसिजनमा धेरै जसो तरकारी भारतबाटै आयात हुन्छ । विदेशी तरकारीमा धेरै क्षेत्र ओगटेको जिल्लामा पछिल्लो समय भने तरकारी जस्ता कुराहरु उत्पादन हुदै गएका छन् ।

कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा गाउँभरी नै प्रबल खेती हुँदै आएको छ । विक्रम सम्वत २०५० देखि यहाँका स्थानियले प्रबल खेती गर्दै आएका छन् । नगरपालिकाको जोगबुढा नदि पारी यस गाउँमा झण्डै ४० घरपरिवार नेपाली बस्छन् । घरको आगनमै भारतको सिमाना पर्ने यहाँका स्थानिय भारतमा प्रबल राम्रो विक्री हुने भएपछि वर्षौदेखि प्रबल खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

“प्रबल खेती सुरु गरेको लामो समय भयो, तत्कालिन राजा महेन्द्रले सिमानाका क्षेत्रमा बस्ती बसाउने योजना पछि २०२२ सालपछि हाम्रो बसोबास भएको हो ।” दोधरा चाँदनी नगरपालिका–१० का स्थानिय खड्के बुढाले भने, “बस्तीको बसेको समयदेखि २०५० सालतिर बाट प्रबल खेतीको बारेमा बुझेपछि खेती सुरु गरिएको थियो, हाल सम्म आएर पनि खेती सुचारु नै छ ।”

भारत सँग सिमा जोडिएको कुतियाकबरका प्रत्येक घरपरिवारले अहिले प्रबल खेती गर्दै आएको छ। यसले गर्दा रोजगार नभएका स्थानियलाई प्रबल खेतीले रोजगार समेत दिएको स्थानिय बुढाले बताए ।

जंगली जनावरले पनि समस्या नगर्ने तथा रोगले पनि असर नगर्ने प्रबल स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । तर नेपाली नागरिकले भने प्रबल खेतीको बारेमा नबुझेका कारण कुतियाकबरका नागरिकले लगाएको प्रबल खेती विगत वर्षौ देखि भारत निर्यात हुँदै आएको छ ।  

“प्रबल खेती सुरु गरेको र प्रबलको तरकारी खान लागेको पनि वर्षौ भयो, तरकारी पनि राम्रो हुन्छ, खेतीलाई हुकाएपछि प्रबल लामो समय देखि गाउँकै आमदानी हुने ठूलो श्रोत बनेको छ ।” स्थानिय बुढाले भने, “प्रबलको पहिचान नेपालीलाई त्यती धेरै थाहा छैन, नेपाली बजारमा त्यती धेरै विक्री पनि हुँदैन, हामीले सुरु गरेको वर्षदेखि अहिले सम्म उत्पादन भएको प्रबलको तरकारीलाई भारत निर्यात गर्ने गरेका छौ ।”

यहाँका किसानले प्रतिकिलो ३० रुपैया भारु अर्थात ५० रुपैया नेपालीमा प्रबललाई भारत निर्यात गर्ने गर्छन् । नेपाली बजार नभएपनि विक्री गर्नको लागि भारतको बजार हुने र भारत निकासीको लागि मात्रै स्थानियले प्रबल खेती गर्दै आएको उनले बताए ।  

अन्नवाली भन्दा प्रबल खेतीमा केही धेरै मेहेनत लाग्ने गर्दछ । तर मेहेनत बढी लागेपनि अन्नवाली भन्दा मुनाफा प्रबल खेतीबाट दिन सकिन्छ । दोधरा चाँदनीका अर्का स्थानिय टेक बहादुर सुनारले पनि प्रबल खेती गरेको दुई दशक बढी भयो । सुरु गरेको केही समयपछि माओवादी द्धवन्द्धकालमा प्रबल खेती गर्न छोडेको भएपनि २०७० सालदेखि पुन प्रबल खेती गर्दै आएको स्थानिय टेक बहादुर सुनारले बताए । 

“प्रबल खेती सुरु गरेको केही समयपछि माओवादी द्धवन्द्धकाल लाग्यो, प्रबललाई भारत निर्यात गर्ने भएपछि प्रबलको निकासीमा भारतीय पक्षले रोकटोक तथा चेकजाँच गर्ने गरेपछि केही समयलाई व्यवसायिक उत्पादन रोक्नु पर्ने बाध्यता आएको थियो ।” स्थानिय सुनारले भने, “तर पछि आएर २०७० सालदेखि भने सहज भएपछि व्यवसायिक रुपमा प्रवल खेती सुरु गरेको अवस्था हो ।” यो सँगै प्रबल खेतीको विस्तार हुने क्रम बढ्दै गएको छ । पछिल्लो अवस्थामा नेपाली नागरिकले पनि प्रबलको बारेमा थाहा पाएको अवस्था भएपछि प्रबलको तरकारी खोज्ने मानिस गाउँमै आएर पनि किन्ने गरेको सुनारले बताए । 

दोधरा चाँदनी नगरपालिकाको जोगबुढा नदी पारि मात्रै गरिने प्रबल खेती अहिले अन्य ठाउामा पनि गरिन थालेको छ । यस्तै महाकाली नदी पारि रहेको दोधरा चाँदनी नगरपाकिलाई नदीमा निमार्णाधिन पक्की पुलले पनि छोएको छ । यसले गर्दा प्रबल खेतीको नेपाली बजार विस्तार गर्न सहज हुने स्थानियको मत रहेको छ ।