धनगढी । भारतीय तस्करले सुन तस्करीका लागि कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गर्ने गरेको देखिएको छ । गड्डाचौकी भारत–नेपाल जोड्ने मुलुककै चौथो महत्वपूर्ण नाका मानिन्छ ।
डेढ महिनाको अवधिमा गड्डाचौकी नाका हुँदै भारतीय बजारमा लैजाँदै गरेको अवस्थामा साढे तीन केजी सुन बरामद भएपछि यस्तो तथ्य खुलेको हो ।
कञ्चनपुर प्रहरीले गत २ जेठमा गड्डाचौकी नाका हुँदै भारत जान लागेको एचआर १२ एएफ ००६ नम्बरको गाडीमा ४९६ ग्राम सुन बरामद गरेको थियो । सोही नाका हुँदै भारत हिँडेको ८०० युके ०२४६८४ नम्बरको मारुतीबाट प्रहरीले शनिबार तीन केजी सुन बरामद गरेको छ । उक्त सुन काठमाडौंको नागढुंगा नाकाबाट बरामद भएको हो ।
तस्करीका दुवै घटनामा भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएका छन् । पक्राउ पर्ने पनि भारतीय नागरिक नै छन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले यो घटनालाई २ जेठको गड्डाचौकीमा बरामद गरिएको सुनसँग जोडेर हेरिएको बताउनुभयो ।
शनिबार पनि सोही नाका भएर भारतीय बजारमा लैजान लागिएको तीन केजी सुन बरामद भएको छ । यी दुई घटनाबीच केही सम्बन्ध हुन सक्ने प्रहरीको अनुमान छ ।