कैलालीमा कोरोना र निषेधाज्ञाका कारण सिँचाइमा समस्या

कैलालीमा कोरोना र निषेधाज्ञाका कारण सिँचाइमा समस्या

कैलाली । कैलालीका किसानलाई धानखेती गर्ने समयमा कुला सफा गर्न नपाउँदा चिन्ता बढेको छ । धानखेती गर्ने समय आइसक्दासमेत खेत सिँचाइका लागि पानी ल्याउने कुलाहरू सरसफाइ नहुँदा किसानमा चिन्ता बढेको हो ।

कैलाली जिल्लामा कोरोना भाइरस संक्रमण समुदायस्तरमै फैलिएपछि एक महिनादेखि निषेधाज्ञा गरिएको छ । संक्रमणको जोखिमले किसान जम्मा भएर कुला सफा गर्न समस्या भएको बताउँछन् । सरकारले खेतीपातीको काम जारी राख्न दिने भने पनि किसान संक्रमणको जोखिम बढेकाले किसान कुला मर्मत, सरसफाइजस्ता कार्यमा जुट्न डराइरहेका छन् ।         

धानखेतीका लागि किसान एक महिनादेखि तयारी थाल्छन् । किसानले ब्याड राख्ने, मलखाद जोहो गर्नेदेखि लिएर खेतमा पानी लाग्ने कुलाको मर्मत, सरसफाइलगायत काम गर्नुपर्ने हुन्छ । खेतीका लागि पानी नभई नहुने र पर्याप्त पानी नभए उत्पादन घट्ने भएकाले किसान खेतसम्म पर्याप्त पानी लैजान हरेक वर्ष सिँचाइ कुलो सरसफाइ गर्ने गर्दछन् । तर कोरोना संक्रमणको जोखिमका कारण खेतमा पानी लाग्ने कुलो सरसफाइ गर्न नसकिएको टीकापुर–४ का किसान समीर चौधरीले बताए ।

कोरोना नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञा र त्रासका कारण किसान अहिलेसम्म खेत सिँचाइ गर्ने कुला, मुहान र बाँध मर्मतसम्भार गर्न नपाएको अर्का किसान किट्टु चौधरीले बताए । ‘कुलो सफा गर्न किसान एक साताभन्दा बढी काममा जुट्नुपर्ने हुन्छ,’ उनले भने, ‘यस्तो डरलाग्दो अवस्थामा कसरी काम गर्नु ? यसरी किसान जम्मा भएर खेतमा जाने वातावरण नभएकाले स्थानीय सरकारले प्रविधिको प्रयोग गरेर कुलो सरसफाइजस्ता कार्यमा सघाउन आवश्यक छ ।’

गतवर्ष पनि यही समयमा भएको निषेधाज्ञाका कारण राम्रोसँग कुलोका मुहान लगायत  सरसफाइ गर्न र खन्न नपाएका किसान यस वर्ष पनि सोही समस्या भएपछि चिन्ता बढेको बताउँछन् ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्र्तगत रहेका रानी मूल कुलोका १४ शाखा कुला, जमरा मूल कुलोका १५ शाखा कुला, कुलरिया मूल कुलोका १९ शाखा कुला रहेका छन् । ती मूल कुलोका शाखामार्फत बनेका ८६३ उपशाखा कुला छन् ।

यसरी ती शाखा र प्रशाखा कुलामार्फत किसानका खेतसम्म पानी लैजाने गरिन्छ । यी शाखा तथा प्रशाखा कुला सरसफाइ र मर्मत नगरे खेतमा पानी पुुगे पनि सिँचाइका लागि पर्याप्त हुँदैन । त्यसका लागि केही कुला सरसफाइ भए पनि अधिकांश कुलाका सरसफाइ नभएकाले किसान समस्यामा छन् ।     

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सरसफाइ गर्न सकिने भए पनि उक्त कुला सामूहिक रूपमा सरसफाइ गर्ने परम्परा रहेकाले अहिले समस्या भइरहेको किसान तथा जमरा मूल कुलाका सचिव मानबहादुर चौधरीले बताए । ‘अब किसानले कुला सफा गर्न ढिला गर्न हुँदैन, कि स्थानीय सरकारले विकल्प खोजेर सफा गरिदिनुप¥यो, नभए किसान खेतबारीमा पस्ने समय ढिला हुन्छ,’ उनले भने, ‘सिँचाइ पर्याप्त नभए उत्पादन घट्छ ।’

कैलाली धानखेतीमा आत्मनिर्भर जिल्ला हो । जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीका अनुसार कैलालीमा ७७ हजार १०८ हेक्टर जमिनमा धानखेती गरिन्छ ।