सल्यानमा जीप दुर्घटना; सात जना घाइते

सल्यानमा जीप दुर्घटना; सात जना घाइते

सल्यानमा आज बिहान जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारीअनुसार नेपालगञ्जबाट शव बोकेर वनगाड कुपिण्डे-१० थापाचौर जाँदै गरेको भे १ च ३६६९ नम्बरको जीप आज बिहान करिब तीन बजेतिर बनगाड कुपिण्डे-८ आगरनेटामा दुर्घटनामा परेको हो । 

जीप सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा जीप चालक  २६ वर्षीय बलबहादुर कुँवर, ४० वर्षीय गाडी धनी होमबहादुर गिरी, २१ वर्षीय आइतुलाल थापा, ३२ वर्षीय खोकलाल थापा, २६ वर्षीय हुर्मती थापा, २० वर्षीय केशव थापा र ४५ वर्षीय टोपबहादुर घर्ती रहेका छन् ।

उनीहरुमध्ये चालक बलबहादुर, हुर्मती र आइतुलालको अवस्था गम्भीर छ । घाइतेमध्ये तीन जनालाई उपचारको लागि नेपालगञ्ज र घाइते भएकामध्ये अन्य तीन जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।