बोराभित्र जलाएको अवस्थामा मानिसको खुट्टा फेला

बोराभित्र जलाएको अवस्थामा मानिसको खुट्टा फेला

काठमाडौंको नयाँ बस्तीमा बोराभित्र जलाएको अवस्थामा मानिसको खुट्टामात्र भेटिएको छ। आज बिहान फ्यालिएको अवस्थामा प्रहरीले बोरा फेला पारेको हो ।

बिहान ७ बजेतिर स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त बोरामा शव हुनसक्ने आशंकामा प्रहरीले उक्त स्थान सिल गरी जाँच गरेको थियो। बोरा जाँच गर्ने क्रममा परालभित्र जलाएको अवस्थामा खुट्टामात्र भेटिएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा रहेको घटनास्थल दिव्य पार्टी प्यालेस नजिकै ६-७०० मिटरभित्र पर्छ। घटनाबारे थप अनुसन्धानमा महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा सक्रिय रहेका छन ।

उक्त शवको अंश पुरुषको हो वा महिलाको अझै पत्ता लाग्न सकेको छैन। यसका लागि डिएन परीक्षण गरिने र थप अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। उक्त शव रहेको बोरामा प्रयोग गरि सकेको नेपाल टेलिकम र एनसेलको सिमकार्ड र गलैचा काट्न प्रयोग गर्ने ब्लेड पनि भेटिएको थियो।