असारदेखि निषेधाज्ञा खुकुलाे बनाउँदै लैजाने सरकारकाे तयारी

असारदेखि निषेधाज्ञा खुकुलाे बनाउँदै लैजाने सरकारकाे तयारी

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार देशभर लगाइएको निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहका प्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ लिने काम भइरहेको जानकारी दिए ।

यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुजडाउन’ लागू गर्ने योजना छ, देशभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ, दाहालले भन्नुभयो, केही सहजीकरण भने पक्कै हुनेछ ।

सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ । 

कोरोना नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा बढेसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुने दर उच्च हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ । सोमवार झन्डै १८ हजारको परीक्षण गरिएकोमा चार हजार चार सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको र ६ हजार नौ सय ५१ सङ्क्रमित निको भएका छन् । त्यही अवधिमा कोरोनाबाट ९२ जनाको ज्यान गएको छ । त्यसअघि १८ हजारको परीक्षणमा कम्तीमा पनि आठ हजारमाथि सङ्क्रमित फेला पर्दै आएका थिए । ज्यान गुमाउनेको सङ्ख्या तीन अङ्कको थियो ।

कोरोनाको पहिलो लहरमा लगाइएको लकडाउन एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपालि भने त्यो गल्ती नदोहोरिने स्पष्ट पार्नुभयो । उहाँका अनुसार आवश्यकताका आधारमा बिस्तारै खुकुलो पार्दै लगिने छ । त्यस अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुदका गतिविधि भने अझै खुल्ने छैन ।

मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना छ । दाहालले भन्नुभयो, दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्छन्, वर्षाको समय छ, मल, बिउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने तर पूर्ण स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिनेछ । निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा ठूलो सहयोग मिलेको स्वास्थ्य मन्त्रालय बुझाइ छ । त्यसैले पनि एकैचोटि खुला गर्न नहुने पक्षमा मन्त्रालय पनि रहेको छ । काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे यो हप्ताको समीक्षाका आधारमा उपत्यकाको निषेधाज्ञाको निर्धारण हुने बताए । पछिल्लो समयमा सङ्क्रमण घटेकाले पनि केही खुकुलो हुने आशा आमनागरिकले पनि लिएका छन् । 

निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने देशभर नै मानिसको चहलपहल बढेको पाइएको छ । यातायातका साधनसमेत बाक्लिएका छन् । उपत्यकामा समेत त्यो अवस्था देखिएको छ । जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले बताए । 

दोस्रो कोरोनाको लहरसँगै नेपालमा गएको वैशाख ७ गते बाग्लुङबाट निषेधाज्ञा लगाउने क्रम सुरु भएको थियो । सङ्क्रमण नियन्त्रणका लागि वैशाख १३ गते बाँके र १४ गते सुर्खेतमा गरिएकामा १६ गतेदेखि काठमाण्डौ उपत्यकासहित धेरै जिल्लाले निषेधाज्ञा लगाएका थिए । जेठ मसान्तसम्म खोटाङ र मनाङ बाहेकका ७५ जिल्लाले निषेधाज्ञा लगाएर सङ्क्रमण नियन्त्रणमा सक्रियता देखाइरहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवर आदेशको पूर्ण कार्यान्वयनमा ७७ वटै जिल्लाका प्रहरी खटिएको बताए । अझै पनि मानिस आफ्नो स्वास्थ्यका लागि सचेत नभएको उल्लेख गर्दै  उहाँले प्रहरी देखे मात्रै मानिस सचेत हुने त्यसपछि लापर्बाही गर्ने क्रम कायम रहेको बताए । चिकित्सकले आफूबाहेक सबै कोभिड सङ्क्रमित हो भनेर व्यवहार गर्न नागरिकसँग अनुरोध गरिरहेका छन् ।