धनगढीमा भूमिहिन सुकम्वासीलाई जग्गा वितरणका लागि नाप नक्सा सुरु

धनगढीमा भूमिहिन सुकम्वासीलाई जग्गा वितरणका लागि नाप नक्सा सुरु

धनगढी उप–महानगरपालिकाले भूमिहिन र सुकम्वासीहरुको पहिचान, लगत संकलन पछि जग्गा वितरणका लागि स्थलगत रुपमा नापनक्साको काम सुरु गरेको छ ।मंगलबार उपमहानगरपालिकाकको वडा नं ९ बंग्राबाट स्थलगत नापनक्साको काम सुरु गरेको हो।

नगरप्रमुख नृपबहादुर वडले प्राविधीक कर्मचारीहरु नापनक्साका लागि स्थलगत रुपमै खटाईएको बताए । समयमै नापनक्साको कार्य सम्पन्न गरेर चाडै लालपूर्जा वितरण गरिने छ नगरप्रमुख वडले भने, कोरोना कहर नभएको भए अहिले सम्म भूमिहिन र सुकम्वासीहरु र अब्यबस्थीत बसोवासीहरु जग्गाधनी भैसक्थे । भूमिहिन र सुकम्वासीहरुको पहिचान, लगत संकलनका लागि छुट्टै लगत सकलन इकाई स्थापना गरेको छ ।

सयममै चुस्त दुरुस्त काम सम्पन्न गर्नका लागि स्थानीयको सहयोग आवश्य छ नगरप्रमुख वडले भने, बास्तविक भूमिहिनहरु यो अवसरबाट बन्चीत हुनु हुदैन भनेर सबैले रचनात्मक सहयोग गर्नुपर्छ । स्थलगत नापनक्साको कार्यमा वडाका जनप्रतिनीधिहरुले सहजीकरण गरिरहेको नगरप्रमुख वडले बताए ।

धनगढी उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष प्रेम भण्डारीले वडा नं ९ मा स्थलगत नापनक्साको काम बिहानै देखि थालिएको बताए । उनले भने, गर्मीमा पनि प्राविधिकहरु फिल्डमा खटिएर काम गरिरहेका छन् । कुनैपनि भूमिहिन र सुकम्वासीहरु जग्गाधनी पूर्जा पाउनबाट छुट्नु हुदैन भन्ने हो वडा अध्यक्ष भण्डारीले भने, ‘ त्यसैले सबैको सहयोग समन्वय आवश्यक छ ।’ भूमिहिन र सुकम्वासीहरुलाई जग्गाधनीपूर्जा दिने कुरो चुनावी घोषणापत्रमा नै राखेको बताउदै भण्डारीले भने, ‘त्यो कार्यकाल भित्रै पुरा गर्ने छौं । 

जग्गा हस्तान्तरणको प्रकृया थाल्नका लागि  भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरणको सबै काम उपमहानगरपालिकाको सुकम्वासी लगत संकलन इकाई कार्यालयबाट भैरहेको छ ।ऐलानी र प्रति जग्गामा बसेकाहरुलाई उप–महानगरपालिकाले सबै सेवा सुविधा दिएर पनि करको दायरमा ल्याउन सकेकाले लालपूर्जा वितरण पछि करको दायरामा ल्याउन सक्ने बताईएको छ ।