दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु

दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु

 दार्चुला, दार्चुलामा भीरबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ३ काटैँ गराँकु बस्ने ३१ वर्षीय लोकेन्द्र बमको भीरबाट लडेर मृत्यु भएको हो । मंगलवार जिल्ला सदरमुकाम खलंगाबाट घर जाने क्रममा राती १० बजेतिर सोही ठाउँको धार भन्ने भीरबाट लडेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाचुलाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए ।

उनी भीरबाट करिब ५० मिटर तल खसेको बताइएको छ । घटना थाहा हुने वित्तिकै तत्काल दल्लेख प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक यज्ञराज खड्काको कमाण्डमा ५ जनाको टोली हिजो नै घटनास्थल पुगेको थियो ।

उक्त घटनाको अनुसन्धानका लागि अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पुष्कर ऐरीको नेतृत्वको टोली खटिएको जनाइएको छ ।