घोडाघोडीको रिङ्गरोड सडक : हातले कोट्याउँदा गिट्टी निस्किन्छ !

घोडाघोडीको रिङ्गरोड सडक : हातले कोट्याउँदा गिट्टी निस्किन्छ !

कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको रिङ्गरोड कालोपत्रे सडकको अनुगमन गरीएको छ । स्थानीयवासीको विरोध र विभिन्न सञ्चारमाध्यममा कालोपत्रे गर्दा कमसल निर्माण सामग्री प्रयोग गरीएको खबर आएपछि युवाहरूले अनुगमन गरेको थिए । नेकपा एमाले ओली निकट अनेरास्ववियुमा आबद्ध विद्यार्थी युवाहरूले नगरपालिकाका इञ्जीनियर , वडा अध्यक्ष, पत्रकार र केही स्थानीयहरूलाई बोलाएर रिङ्गरोड कालोपत्रे सडकको अनुगमन गरेका थिए ।

कालोपत्रे सडकको अनुगमन गर्दा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन कालोपत्रे सडक बनाएको पाइएको छ । कालोपत्रे सडकमा हातले कोट्याउँदा गिट्टी निस्किने गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य नरेन्द्र रोकायले बताए । कम्पनीको चरम लापरबाही गर्दा कालोपत्रे सडक मजबुत नबनेको उनको भनाई छ ।

निर्माण कम्पनीले गुणस्तर हीन सामाग्रीको प्रयोग गरेको हुँदा तत्काल काम रोकेर पुन : गुणस्तरीय सामाग्रीको प्रयोग गरी सुचारु गर्न उनीहरूले आग्रह समेत गरेको छ । घोडाघोडीको गौरबको योजना समेत रहेको हुँदा यसलाई पुनः मर्मत गर्नु पर्ने अनुगमन टोलीमा सहभागी अनेरास्ववियुका केन्द्रीय सदस्य कपिल सापकोटाले बताए ।

सडकको सब बेस र बेसको काम राम्रो रहे पनि कालोपत्रे गर्दा माथिबाट प्रयोग हुने जिरा गिट्टी ४.७५ एमएमको प्रयोग गर्नुपर्नेमा त्यसो नगरी ठुलो गिट्टी प्रयोग गरेको हुँदा यस्तो समस्या आएको इञ्जीनियर सन्तोष चन्दले बताए । त्यति मात्र नभएर सडकमा प्रयोग भएको बिटुमिन अर्थात् अलकत्राको गुणस्तर कमजोर हुन सक्ने उनको अनुमान गरीएको छ ।

अलकत्राको गुणस्तर कमजोर भएको/नभएकोबारे प्रमाणित गर्न परीक्षणका लागि ल्याबमा पठाएको चन्दले बताए । अहिले स्यान्डसिल गरिए पनि अलकत्रा परीक्षणपछि गुणस्तर कमजोर देखिए जुन हिसाबमा कालोपत्रे बिग्रिएको छ, त्यसमा माथिबाट मर्मत मात्र नभई धेरै बिग्रिएका २०० मिटर क्षेत्रमा जिरा गिट्टी हालेर फेरि कालोपत्रे गर्नुपर्ने उनको भनाई छ ।

यता कमसल सडक निर्माण गरेको आरोप लागेको निर्माण कम्पनीले भने सडक मापदण्ड अनुसार नै बनाएको दाबी गरेको छ । काम गर्दा केही कमजोरी भए पनि बदमासी नभएको निर्माण कम्पनीले जनाएको छ । करिब १७ किलोमिटर लम्बाइ रहेको रिङ्गरोडको पहिलो चरणअन्तर्गत ३.५६ किमी सडक कालोपत्रे गर्ने काम भइरहेको छ। सडक कालोपत्रे गर्नका लागि रेखा जेभी निर्माण सेवाले एक करोड ५८ लाख ६० हजार ९५८ मा ठेक्कामा लिएको छ ।