राउटे बस्तीमा पुग्योे मानवअधिकारकर्मी

राउटे बस्तीमा पुग्योे मानवअधिकारकर्मी

दुर्व्यवहारमा परेका राउटे युवतीको स्वास्थ्य परीक्षण र उनीहरूको सुरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली राउटे बस्तीमा पुगेको छ । टोलीले दुर्व्यवहारमा परेका युवतीको बिहीबार स्वास्थ्य परीक्षण र डीएनए टेस्ट गर्ने व्यवस्था मिलाएको छ ।

महामुखियालाई दुई युवतीसहित वीरेन्द्रनगर आउन आग्रह गरिएको आयोगको कर्णाली प्रदेश कार्यालय, जुम्लाका सूचना अधिकारी किरण बरमले बताए । उनका अनुसार लामो प्रयासपछि राउटे मुखिया दुर्व्यवहारमा परेका दुई युवती लिएर सदरमुकाम आउन सहमत भएका छन् । बसाइँ सर्दै गुर्भाकोट नगरपालिका–११ सोतीमा पुगेका राउटेहरू आफ्नो समुदायका युवतीमाथि घटेको घटनाबारे भने अझै अनभिज्ञ रहेको उनले बताए ।

राउटे समुदायलाई थाहा नदिएर पीडित युवतीलाई परामर्श गरी स्वास्थ्य परीक्षण गरिने आयोगले जनाएको छ । आयोगका अनुसार पीडित युवतीले आफूहरूलाई स्थानीय युवाले अत्यधिक मात्रामा मदिरा खुवाएर बेहोस बनाएको बताएका छन् । राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुनलाई पक्राउ गरेको छ ।