काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थप गर्ने तयारी

काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थप गर्ने तयारी

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा फेरि लम्ब्याइने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूबीच निषेधाज्ञा पुनः एक साता थप गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

कोरोना संक्रमण दर अहिले पनि खासै घट्न नसकेको देखिएकाले निषेधाज्ञा कायमै राख्नुपर्ने सुझाव आएको काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार निषेधाज्ञा थप्दै जाने र क्रमशः खुकुलो पनि पार्दै जानेबारे छलफल भइरहेको छ ।

यसअघि थपिएकाे निषेधाज्ञा यही जेठ मसान्तमा सकिनेछ । त्यसपछि पुनः कम्तीमा एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेकाे हाे ।

गत वैशाख १६ गतेदेखि सुरू भएकाे निषेधाज्ञामा किराना पसल, खाद्यान्न, फलफूल, तरकारी, मासु पसल लगायत अत्यावश्यक सेवाका पसलहरू बिहान ९ बजेसम्म खाेल्न छुट छ । तर सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सपिङ मल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, पुस्तकालय लगायत मानिसहरुको भिडभाड हुने खालका कुनै पनि कार्यक्रम, पसल र सवारी साधनहरूलाइ बन्द गरिएकाे छ ।