‘नेपाली लडाकु हुनुमा गर्व गर्छु’ : अल्मुताइरी

‘नेपाली लडाकु हुनुमा गर्व गर्छु’ : अल्मुताइरी

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बलियो टोली अस्ट्रेलियासँग ३-० गोलले पराजित भएको छ।

कुवेतको ‘जबर अल-अहमद अन्तराष्ट्रिय रंगशाला’मा गए राति भएको खेलमा १० खेलाडीमा सिमित नेपाली टोलीले एसियाली ‘पावर हाउस’ अस्ट्रेलियाविरुद्ध राम्रो फुटबल खेले बावजूद हार बेहोरेको हो।

खेल पश्चात पोस्ट म्याच कन्फरेन्समा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालले ५ पटक विश्वकप फुटबल खेलिसकेको अस्ट्रेलियाविरुद्ध राम्रो फुटबल खेलेको बताए। “हामीले आफ्नो शत प्रतिशत दिएर खेलेका हौं, काउन्टरमा अट्याक पनि गर्न खोज्यौँ”, अल्मुताइरीले भने।

“अस्ट्रेलियाविरुद्ध हामीले मात्र डिफेन्डिङ खेल खेलेनौं, तर अस्ट्रेलियाका खेलाडीहरूको लामो कद र बलियो शारीरिक बनोटले उनीहरूलाई फाइदा भयो”, उनले थपे।

अल्मुताइरीले खेल पश्चात सामाजिक सञ्जालको माध्यमबाट एन्फा लगायत सम्पूर्ण नेपाली फुटबल समर्थकलाई धन्यवाद व्यक्त गरे। उनले आफ्नो फेसबुक स्ट्याटस मार्फत आफू एक नेपाली लडाकु हुन पाएकोमा गर्व महसुस गरिरहेको बताए।

उता अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले पनि नेपाली टोलीको हार नम्माने मानसिकताको तारिफ गरे। नेपाली खेलाडीहरुले अन्तिम मिनेटसम्म ज्यान दिएर खेले, उनीहरू मैदानमा कुदेको कुदै थिए, आर्नोल्डले पोस्ट म्याच कन्फरेन्समा भने।

फिफा विश्वकप छनौटबाट बाहिरिसकेको नेपाल एसियन कप २०२३ को प्लेअफको लक्ष्य राखेर अस्ट्रेलियाविरुद्ध मैदान प्रवेश गरेको थियो। १० खेलाडीमा सिमित रहँदा पनि प्रशिक्षक अल्मुताइरीले आयुष घलान, कमल थापा र सुरज जिउ ठकुरी जस्ता युवा खेलाडीलाई डेब्यू गर्ने मौका दिए।

फिफा वरियतामा ४१ औं स्थानमा रहेको अस्ट्रेलियाविरुद्धको खेलबाट नेपालले धेरै कुरा सिक्ने मौका पाएको छ। नेपाली खेलाडीहरु हिजोको खेलबाट अविस्मरणीय अनुभूति र आत्मविश्वास लिएर जुन १३ तारिख स्वदेश फर्किने कार्यक्रम रहेको छ।