आगामी आर्थिक वर्षदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम उच्च शिक्षामा समेत सञ्चालन हुने भएको छ । विद्यालय तहमा रहेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई उच्च शिक्षामा नयाँ आर्थिक वर्षदेखि विस्तार गरिएको हो ।
चालू आर्थिक वर्षदेखि विद्यालय तहमा कार्यान्वयनमा ल्याइएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम उच्च शिक्षा अध्यापन गराउने क्याम्पसमा समेत लागू गरिने भएको हो । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले आगामी आर्थिक वर्षदेखि सरकारले क्याम्पसमा समेत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याउने निर्णय गरेको जानकारी दिनुभयो ।
खासगरी आयोगमार्फत मुलुकभरका सामुदायिक क्याम्पसलाई दिइने अनुदानलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको छातामुनि समावेश गर्ने योजना बनाइएको छ । सो कार्यक्रमका लागि ६० करोड रुपियाँ विनियोजन भएको छ । शैक्षिक क्षेत्रको पूर्वाधार निर्माणमा यो कार्यक्रम केन्द्रित गर्ने सरकारको तयारी छ । यो कार्यक्रम कार्यान्वयनबाट शैक्षिक पूर्वाधार निर्माणमा परिवर्तन भई दक्ष जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको छ ।