बैतडीमा बजार अनुगमन तीव्र, निषेधाज्ञामा ११ पटक बजार अनुगमन

बैतडीमा बजार अनुगमन तीव्र, निषेधाज्ञामा ११ पटक बजार अनुगमन

बैतडी । निषेधाज्ञाको समयमा बजारमा महँगी बढेको भन्दै उपभोक्ताको गुनासो आउन थालेपछि बैतडीमा बजार अनुगमन कार्यलाई तीव्र पारिएको छ। महामारीको बेला कालोबजारी नहोस् भनेर जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन कार्यलाई तीव्रता दिएको जनाएको छ। 

निषेधाज्ञाको अवधिमा हालसम्म ११ पटक बजार अनुगमन गरिएको छ। जिल्लामा गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञामा कालोबजारी भएको गुनासो आएपछि  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन सुरु गरिएको थियो। 

हालसम्म ११ पटक बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। उनले भने, ‘निषेधाज्ञाको समयमा कालोबजारी भएको, महंँगी बढेकोलगायत गुनासा आएपछि अनुगमन समितिले अनुगमन थालेका हौं।’

हालसम्म जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

यो अवधिमा हामीले ५४ वटा पसलमा अनुगमन गर्दा २७ वटा पसलेलाई जरिवानासहित कारबाही गरिएको सूचना अधिकारी भारतीले बताए। २७ पसलेमध्ये ६ जनालाई २० हजारका दरले, १७ जनालाई पाँच हजारका दरले र ४ जनालाई २ हजार एक सयका दरले जरिवाना गरिएको छ।