एसईईको नतिजा : पाँच जनाको समितिबाट विद्यार्थीको अन्तिम मूल्याङ्कन

एसईईको नतिजा : पाँच जनाको समितिबाट विद्यार्थीको अन्तिम मूल्याङ्कन

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य यही साउन १५ भित्र पूरा गर्ने भएको छ ।

विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।
बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौदेखि विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिनुभयो ।

त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको छ ।त्यसलाई सोमबारसम्म सार्वजनिक गर्ने तयारी छ ।

त्यसपछि सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन हुनेछ । बोर्डले असार २० भित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कनका सबै कार्य पूरा गर्नुपर्ने समयसीमा दिएको छ ।

विद्यालयले २० गतेभित्र जिल्ला समन्वय एकाइमा विद्यार्थीको अन्तिम सबै अभिलेख बुझाउनुपर्ने समयसीमा निर्धारण गरिएको जानकारी अध्यक्ष पौडेलले दिनुभयो ।

बोर्डले यस पटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनलाई केही फरक गर्दै मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाएको छ । जसअनुसार विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्न विद्यालयमा पाँच सदस्यीय समिति बनाइने छ ।

समितिमा विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जनाको मूल्याङ्कन समितिबाट विद्यार्थीको अन्तिम मूल्याङ्कन प्रमाणित गरिने छ ।

यस पटक पाँच जनाको अनिवार्य हस्ताक्षरमा मात्र नतिजाको अन्तिम मूल्याङ्कन हुने कार्यविधि बोर्डले बनाएको छ ।

बोर्डका अध्यक्ष पौडेलले पाँच जनाको हस्ताक्षरमा विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन नआए त्यसले मान्यता नपाउने र त्यो विद्यालयमै फिर्ता पठाइने जानकारी दिनुभयो ।

बोर्डले विद्यार्थीको पहिलो, दोस्रो र अन्तिम परीक्षालाई कसरी आधार मानेर अङ्क दिने भन्नेसमेत स्पष्ट प्रावधान बनाइदिएको छ ।

विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिएको गत वर्षको गुनासो कम गर्न बोर्डले यस पटक धेरै मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान राखेको छ ।

त्यसमा सहमत हुन नसकिएको अवस्थामा त्यो मूल्याङ्कनलाई फिर्ता गर्न सकिने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको छ ।

विगतमा पनि साउन मध्यबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने गरिएकोमा यस पटक दुई साताको हाराहारीमा मात्र विलम्ब हुने अवस्था देखिएको उहाँको भनाइ छ ।

सरकारले असार १ बाट विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको र शिक्षकहरू विद्यालयकै सम्पर्कमा हुने भएका कारण एसईईका विद्यार्थीको आन्तरिक मूल्याङ्कनलगायतका सबै काम निर्धारित समयमै हुने बोर्डको अपेक्षा भएको समाचार गोरखापत्रमा प्रकाशित छ ।