युरोपेली च्याम्पियनसिपमा नेदरल्याण्ड्सले युक्रेनमाथि जित निकालेकाे छ । गएराति भएको खेलमाम नेदरल्यण्ड्सले युक्रेनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
नेदरल्याण्ड्सलाई जित दिलाउको लागि कप्तान जिओर्जिनिओ वाइनाल्डम, वोट वेघर्स्ट र डेन्जेल डमफ्रिजले समान एक/एक गोल गरे । युक्रेनका लागि कप्तान आन्द्रे यार्मलेंको र यारेम्चुक गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
खेलको ५२ औं मिनेटमा वाइनाल्डमले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । देन्जेल डमफ्रिजको क्रसलाई गोलरक्षक बुस्कानले बचाएपनि रिबाउन्डलाई वाइनाल्डमले गोलमा परिणत गरेका थिए ।
त्यसको सात मिनेटपछि नै नेदरल्याण्ड्सले अग्रता दोब्बर पार्यो । युक्रेनले पेनाल्टी क्षेत्रभित्र क्लिअर गर्न नक्दा वेघर्स्ट गाेल गरेका थिए ।
७५ औं मिनेटमा कप्तान आन्द्रे यार्मलेंकोले गोल गर्दै युक्रेनलाई खेलमा फर्काए । उनले रोमन यारेम्चुकको पासमा गोल गरेका थिए । त्यसको ४ मिनट नबित्दै यारेम्चुकले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । उनले रुस्लान मालिनोभ्स्कीको क्रसमा गोल गरेका थिए ।
८५ औँ मिनेटमा नेदरल्यान्ड्सले पुन: अग्रता लियो । नाथन आकेको पासमा डमफ्रिजले गोल गर्दै टोलीलाई फेरी अघि बढाएका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा नेदरल्याण्ड्सले ३-२ गोल अन्तरले खेल जित्यो ।
यस जितसँगै नेदरल्याण्ड्सले समूह सी मा ३ अंक जोडेको छ । युक्रेनले युरोमा ६ खेलपछि गोल गरेपनि कुनै अंक जोड्न सकेन ।