कञ्चनपुरमा पनि केही खुकुलो बनाएर फेरि लम्बियो निषेधाज्ञा

कञ्चनपुरमा पनि केही खुकुलो बनाएर फेरि लम्बियो निषेधाज्ञा

कञ्चनपुरमा जारी निषेधाज्ञा केही खुकुलो बनाएर फेरि लम्ब्याइएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञाको अवधि थप गर्दै आगामी असार ७ गतेसम्मका लागि लम्ब्याएको हो। जिल्लामा कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन असार ७ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरु आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा चार दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ। 

त्यस्तै तरकारी तथा फलफूलका पसलहरु सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य संघको समन्वयमा आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न सकिने जनाइएको छ। यसैगरी स्वास्थ्य सेवा, दुध डेरी, पेट्रोलियम पदार्थल, खाद्यवस्तु, कृषि बीउबिजन तथा सामग्री, वर्कशप, निर्माण सामग्री पसल अथवा व्यवसाय सोही बार बिहान ६ बजेदेखि ११ बजेसम्म नै सञ्चालन गर्न सकिने छ। 

निर्माण सामग्री तथा मालसामान ढुवानी, एम्बुलेन्स, दमकल, शववाहन, सरसफाइ तथा अनुमती प्राप्त साधनबाहेक अन्य सबै सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख छ।