दोस्रो लहरमा कोरोना भाइरसको केन्द्रबिन्दु बनेको बाँकेमा निषेधाज्ञा खुकुलो, जनजीवन सहज बन्दै

दोस्रो लहरमा कोरोना भाइरसको केन्द्रबिन्दु बनेको बाँकेमा निषेधाज्ञा खुकुलो, जनजीवन सहज बन्दै

बाँकेमा निषेधाज्ञा खुकुलो भएपछि यहाँको दैनिक जनजीवन सहज बन्दै गएको छ । निषेधाज्ञाको शुरुआती चरणमा औषधि, किराना, खाद्यान्न तथा तरकारीलगायत अत्यावश्यक वस्तुका पसलमात्र खोल्न दिइएकामा गत एक सातादेखि सबैखाले पसल खोल्न अनुमति दिइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार, बिहान ७ देखि अपराह्न २ बजेसम्म सबैखाले पसल खोल्न दिने सहमति नेपालगञ्ज उद्योग वाणिज्यसँग भएको छ ।

एक सातायता कपडा, हार्डवेयर, भाँडाकुँडा, विद्युतीय उपकरण, कम्प्युटर, स्टेशनरी, घर निर्माण सामग्रीलगायत पसल खोल्न दिइएको छ भने विवाह, व्रतबन्धलगायत धार्मिक गतिविधिलाई पनि सहज बनाइएको छ । पन्ध्र जनासम्म जम्मा भएर विवाह र व्रतबन्धजस्ता धार्मिक गतिविधि गर्न अनुमति दिइएको प्रजिअ गेलालले जानकारी दिनुभयो ।

यहाँका होटेल व्यवसाय, रेष्टुरेन्ट, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च, सिनेमाघर सार्वजनिक यातायात भने बन्दकै अवस्थामा छन् ।

यी व्यवसाय दुई महिनादेखि बन्दकै अवस्थामा रहेकाले यसका व्यवसायीलाई आर्थिक नोक्सानीको हिसाबले नराम्ररी चिमोट्ने गरेको होटेल व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष भीमलाल कँडेलको भनाइ छ ।

“अधिकांश होटेल तथा यातायात व्यवसायीले बैंकबाट ऋण लिएकाले लामो समयको बन्दले ऋणमा डुब्ने अवस्थामा पुगेका छौँ” अध्यक्ष कँडेलको गुनासो छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले पनि निषेधाज्ञाको स्वरुप परिवर्तन गरेर होटेल तथा यातायात व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएको छ ।

सङ्घका अध्यक्ष अव्दुलवाहिद मन्सुरीले निषेधाज्ञाको समयमा उद्योगी, व्यापारीले भोग्नुपर्ने आर्थिक घाटालाई सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभभयो । सङ्घको तथ्याङ्कअनुसार, बाँकेमा सानाठूला गरी झण्डै पाँच हजारभन्दा बढी उद्योग, व्यवसाय सञ्चालनमा छन् । निषेधाज्ञाका कारण प्रायः सबै व्यवसायीले धेरथोर व्यापार घाटा सहनु परेको छ ।

अर्कोतर्फ पर्यटन गन्तव्यको केन्द्रविन्दुको प्रमुख आधारका रूपमा रहेको यहाँको पर्यटन व्यवसाय पनि कोरोना महामारीपछि जारी निषेधाज्ञाको प्रभावमा परेको छ । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटक आउने अवस्था अहिले ठप्प छ ।

जसका कारण पर्यटन व्यवसायले पनि ठूलो आर्थिक क्षति भोग्नुपरेको नेपाल एसोसिएशन अफ टुर्स एन्ड ट्राभल एजेन्सी ९नाटा० बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । उहाँका अनुसार अनुसार, नाटाले सरकारसँग करमा जरिवाना तथा बैंकको ऋणमा पेनाल्टी मिनाहा, विद्युत् खपतमा छुटमा सहुलियत माग गरेको बताउनुभयो ।