कप्तान रामोसले रियल म्याड्रिड छाड्ने

कप्तान रामोसले रियल म्याड्रिड छाड्ने

स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले क्लब छाड्ने भएका छन् । रियलले बुधबार विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने औपचारिक रुपमा घोषणा गरेको हो ।

रियलले रामोसलाई बिदाइ गर्न बिहीबार एक कार्यक्रम आयोजना गरिने भएकाे छ । रामोस र रियलबीच सम्झौता नविकरणबारे लामो समयदेखि छलफल चलेपनि सहमति हुन सकेन । रियलले रामोसलाई एक सिजनको लागि सम्झौता दिएपनि रामोसले भने २ सिजनको सम्झौता माग गरेका थिए ।

स्पेनिस संचारमाध्यमका अनुसार नवनियुक्त प्रशिक्षक कार्लो एन्चेलोटिले रामोसलाई बस्न आग्रह गरेपनि उनले नयाँ चुनौतीका लागि आफू तयार रहेको बताए । आफ्नो मागअनुसार क्लबले सम्झौता नदिने भएपछि रामोसले अन्तै जाने निर्णय गरेका हुन् । रामोसले चोटका कारण गत सिजन धेरै खेल गुमाएका थिए ।

रामोसले रियल म्याड्रिडका लागि १६ सिजनमा ६ सय ७१ खेल खेल्दै १ सय १ गोल गरेका थिए । उनले ५ पटक ला लिगा, ४ पटक च्याम्पियन्स लिग, २ पटक कोपा डेल रे, ४ पटक स्पेनिस सुपर कप, ३ पटक यूईएफए सुपर कप तथा ४ पटक क्लब विश्वकप जितेका छन् ।