नेपाल एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश

नेपाल एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश

नेपाल एसियन कप २०२३ को तेस्रो चरणमा पुगेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले नियम परिवर्तन गरेपछि नेपाल एसियनको तेस्रो चरणमा सिधा पुग्न सफल भएको हो ।

फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटको दोस्रो चरणको प्रतिस्पर्धा सकिएको भोलिपल्ट एएफसीले नयाँ नियम सार्वजनिक गरेको हो ।

एएफसीले नयाँ नियमअनुसार दोस्रो चरणको छनोटमा समूहमा उत्कृष्ट चार भित्र पर्न नसकेका दोस्रो भएका तीन टिम, समूहमा तेस्रो र चौथो भएका १६ टिम र पाँचौ भएका उत्कृष्ट तीन टिम गरी २२ टिमलाई सिधा तेस्रो चरणमा प्रवेश दिने निर्णय गरेको हो ।

कोरोना कारण दोस्रो चरणको छनोटको खेल एक वर्ष रोकिएका कारण नयाँ नियम बनाइएको हो । यसअघि १५ टिम मात्र तेस्रो चरणमा सिधा पुग्ने नियम थियो । ११ टिम प्लेअफ खेल्नु पर्ने नियमअनुसार नेपाल प्लेअफमा पुगेको थियो। प्लेअफमा ११ टिमबीच प्रतिस्पर्धा हुँदा ९ ले तेस्रो चरणमा स्थान बनाउने प्रावधान थियो ।

एएफसीको नयाँ नियमअनुसार तेस्रो चरणमा पुगेका टिममा ताजकिस्तान, उज्वेकिस्तान, कुवेत, बहराइन, तुर्केमिस्तान, जोर्डन, प्यालेस्टाइन, मलेसिया, फिलिपिन्स र किर्गिस्तान छन् ।

यसैगरी भारत, थाइल्यान्ड, सिंगापुर, मंगोलिया, अफगानिस्तान, हङकङ, माल्दिभ्स, श्रीलंका, नेपाल, म्यानमार,यमन र बंगलादेश रहेका छन्।