राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कलाकारहरूलाई तीज गीत निकाल्दा ध्यान दिन आग्रह गरेको छ । प्रतिष्ठानले तीजका गीत निकाल्ने कलाकारलाई तीजको मौलिकता र संस्कृतिलाई विचार गर्न आग्रह गरेको हो ।
पछिल्लो समय तीज गीतको नाममा देखिएका विकृति, विसंगति, अभद्र श्रव्यदृश्य सामग्रीहरू आउने गरेको भन्दै यसमा सचेत रही दर्शक तथा स्रोताले गरेको आग्रहलाई सम्मान गर्न प्रतिष्ठानले स्रष्टाको ध्यानाकर्षण गराएको छ ।
प्रतिष्ठानले भनेको छ, ‘नेपाली मौलिक लोकगीत संगीत अन्तर्गत पर्व गीत विशेष तीज गीतलाई हाम्रो संस्कृतिको अर्को महत्वपूर्ण गीतको रूपमा लिइन्छ । हरेक वर्ष उल्लेखनीय मात्रामा तीज गीत कुनै न कुनै माध्यमबाट व्यावसायिक रूपमा हेर्न पाईन्छ । यो सुखद् पक्ष पनि हो ।’
प्रतिष्ठानले अगाडि भनेको छ, ‘कतिपय तीज गीतको नाममा देखिएका विकृति, विसंगति, अभद्र श्रव्यदृश्यहरूप्रति समस्त दर्शक स्रोताहरूको गुनासो बर्सेनि आइरहने हुँदा यस वर्ष पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विशेष ध्यान आकर्षण भएको छ ।
तसर्थ, सम्पूर्ण स्रष्टा, सर्जक, गायक-गायिकाले, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवम् वितरकहरूमा सामाजिक सद्भावमा खलल पुर्याउने एवंम् अभद्र र नियतवश दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीत-संगीत प्रस्तुत नगरिदिनु हुन अनुरोध गर्दछौँ ।’
हरेक वर्ष तीजको अवसर पारेर करोडौंको लगानीमा तीज गीत बजारमा आउँछन् । संस्कृतिका नाममा भएको यति ठूलो खर्चले आफ्नो देशको मौलिकता तथा सांस्कृतिक महत्व जोगाउन सक्नु पर्ने प्रतिष्ठानले जनाएको छ ।