अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा भीरबाट बा५ख १४० नंको टिपर खस्दा टिपरचालक धनकुटा नगरपालिका–२२ वर्षीय दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले जानकारी दिए ।

बुधबार राति १०ः०० बजे अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल चिचिला–३ पुखुवामा ढुङ्गा अनलोड गर्ने क्रममा पछाडि सार्दा टिपर अनियन्त्रित भई भीरबाट करिब ३०० मिटर तल अरुण नदीको बगरमा झरेको थियो ।

भीरबाट खस्दा चालक भट्टराईको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी राईले बताए । त्यस्तै टिपर दुर्घटना परेर सहचालक काभ्रेपलाञ्चोक भकुन्डेबेँसीका २० वर्षीय नवराज श्रेष्ठ गम्भीर घाइते भएको उनले जानकारी दिए ।

सहचालक श्रेष्ठको टाउको चोट लागेको छ भने बायाँ हात भाँच्चिएको सूचना अधिकारी राईले बताए । गम्भीर घाइते श्रेष्ठको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।