युरो कप : नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश

युरो कप : नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश

नेदरल्याण्ड्स युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार विहान सकिएको खेलमा अष्ट्रियामाथि २-० लाई गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड्स युरो कपको नकआउट चरणमा पुगेको हो ।

नेदरल्याण्ड्सलाई जित दिलाउनको लागि मेम्फिस डिपाएले र डम्फ्राइजले एक/एक गोल गरेका थिए । नेदरल्याण्ड्सले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा अर्काे गोल थपेको थियो ।

खेलको ११ औँ मिनेटमा डिपाएको पेनाल्टी गोलमा नेदरल्यण्ड्सले अग्रता लिएको थियो । अष्ट्रियाका कप्तान डेविड अलाबाले पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राईजलाई लडाएको भिडियो असिस्टेन्ट रेफ्रीले देखेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

६७ औं मिनेटमा नेदरल्यान्ड्सले डम्फ्राइजको गोलमा अग्रता दोब्बर पार्यो । वैकल्पिक खेलाडी डनि मालेनले अफसाइड ट्रयाप बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई अनमार्क रहेका डम्फ्राइजले गोल गरेका थिए ।

यस जितसँगै नेदरल्याण्ड्सको २ खेलमा ६ अंक भएको छ । यसै समूहमा रहेको युक्रेन र अष्ट्रियाको ३(३ अंक छ । नर्थ म्यासेडोनिया भने अंकविहिन रहेको छ । अन्तिम चरणमा युक्रेन र अष्ट्रिया तथा नेदरल्यान्ड्स र नर्थ म्यासेडोनिया भिड्नेछन् ।