महाकाली पुलमा सवारीसाधनलाई रोक

महाकाली पुलमा सवारीसाधनलाई रोक

कञ्चनपुर ।  महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक आज पनि यथावत रहेको छ । नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीमा रोक लगाइएको हो ।

आज बिहान ८ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एकलाख ४४ हजार ८७० क्युसेक पुगेको छ । नदीमा पानीको बहाव ८० हजार क्युसेकभन्दा बढी पुगेमा पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ ।

पुल पुरानो र जीर्ण भएका कारण भारतीय पक्षले पानीको बहाव बढेमा सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ । नदीमा पानीको बहाव घटने प्रतिक्षामा सवारीसाधन पुल वारी र पारी लाम लागेर बसेका छन् । पुलमा साइकल, मोटरसाइकल र पैदलयात्रुका लागि भने आवागमन खुला गरिएको छ ।