उत्पादित सामान बजारसम्म पुग्न नसक्दा उद्योग सञ्चालनमा समस्या

उत्पादित सामान बजारसम्म पुग्न नसक्दा उद्योग सञ्चालनमा समस्या

 कोरोना महामारीको कारण विगत लामो समयदेखि धरासायी बनेको वीरगन्ज औद्योगिक करिडोर क्षेत्र पूर्ण रुपमा चलायमान हुन सकेको छैन ।

गत वर्षको पहिलो चरणको महामारीको क्रममा ६ महिनाभन्दा बढी थला परेका उद्योगहरु विस्तारै संचालनमा आउन लाग्दै थिए । तर त्यही बेला फेरि दोश्रो चरणको महामारी सुरू भएर पनि पुनः उद्योग सञ्चालनको बाधक बन्यो । यस वर्षको दोश्रो चरणको महामारीमा उद्योगहरु खासै बन्द नभए पनि महामारीको कारण मजदुरहरु काम गर्न नआउनु, उत्पादनले बजार नपाउनु, बजारमा बाँकी रहेको पैसा असुली हुन नसक्नु एवं आयातमा समस्या हुनु जस्ता कारणले  उद्योगीहरु मर्कामा परेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बताए ।

उनका अनुसार दोश्रो चरणको महामारीमा उद्योग संचालनमा राज्य लगायत प्रशासनले सहयोग गरेपनि उद्योगको भित्री समस्याले गर्दा उद्योगीहरु मर्कामा परेको भन्दै दोश्रो चरणको लकडाउनमा उद्योग संचालनमा राज्य लगायत प्रशासलको पूर्ण सहयोग रहेको बताए । प्रशासनको सहयोग भएपनि महामारीका सर्वसाधारणहरुको धमाधम मृत्यु भइरहेको, संक्रण तिब्र रुपमा फैलि रहेको जस्ता समस्याले गर्दा कामदारहरु त्रासमा भई आफै काममा नआउने कारणले गर्दा उद्योग संचालनमा समस्या भएको बताए ।

अर्कोतर्फ नेपाल भारत सीमा क्षेत्र बन्द रहेको कारण यहाँ स्थित उद्योगहरुमा कार्यरत भारतीय टेक्निसियन कामदारहरु नेपाल आउन नसकेको र केही मात्रामा प्रशासनको सहयोगमा आएपनि अन्य स्वदेशी कामदारहरु नै नआएकोले पनि समस्या उत्पन्न भएको उनको भनाई छ । अर्कोतर्फ लकडाउनको कारण बजार बन्द रहेको कारण उत्पादित सामानहरु बजारमा जान नसकेकोले उद्योगमै थन्काउनुपर्ने अवस्था, बजारमा बाँकी रहेका पैसाहरु संंकलन हुन नसक्नु जस्ता समस्याले गर्दा उद्योग संचालनमा समस्या भएको अध्यक्ष गुप्ताले बताए ।

अहिले पनि सम्पूर्ण उद्योगहरु संचालनमै छन्, तर त्यसले उत्पादन गरेको सामान बजारसम्म पुग्न सकेको छैन, भारत लगायत तेश्रो मुलुकबाट कच्चा पदार्थ आयात हुन सकेको छैन, पुरानै अर्डरका कच्चा पदार्थहरु ल्याइएको छ, र नयाँ अर्डर हुन सकेको छैन भन्दै अध्यक्ष गुप्ताले उद्योग संचालनमा प्रशासनको सहयोग मात्र नभई उद्योग संचालनका विभिन्न पक्षहरु छन्, त्यसमध्ये कुनै अवरोध हुँदा उद्योग संचालनमा पक्कै समस्या हुने उनको भनाई छ ।