डडेल्धुरामा स्वास्थ्यकर्मी जंगलमा मृत फेला

डडेल्धुरामा स्वास्थ्यकर्मी जंगलमा मृत फेला

डडेल्धुरामा एक स्वास्थ्यकर्मी जंगलमा मृत फेला परेकी छन् । परशुराम नगरपालिका-८ स्थित जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अस्मिता धामी मृत फेला परेकी हुन् । 

हट्टवानी सामुदायिक वनमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव भेटिएको जानकारीपछि इलाका प्रहरी कार्यालय जोगबुढा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा गएको छ । 

धामीको हत्या गरेर जंगलमा फालेको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा गएको टोलीसँग सम्पर्क नहुँदा घटनाबारे विस्तृत जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी महेन्द्र नेपालले बताए ।

धामी असार २ गते स्वास्थ्य सामग्री पुर्याउन जोगबुढा अस्पताल गएकी थिइन् । त्यही दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएको थियो । सोधखोज गर्ने क्रममा जंगलमा धामीको शव फेला परेको डिएसपी न्यौपानेले बताए ।