युराे कप : पार्चुगलमाथि जर्मनीकाे सानदार जित

युराे कप : पार्चुगलमाथि जर्मनीकाे सानदार जित

युरोपेली च्याम्पियनसिपमा जर्मनीले साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ । शनिबार राति समुह एफ अन्तर्गत भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीलाई सानदार जित दिलाउनको लागि काई हाभर्टज, रोविन गोसेन्सले गोल गरे । दुई गोल भने जर्मनीले उपहार पाएको थियो । पोर्चुगलको लागि कप्तान क्रिस्टियानो रोनाल्डो र  डिएगो जोटाले समान एक/ एक गाेल गरे ।

जर्मनीले सुरूवातदेखि नै दबाबमा राखेपनि अग्रता भने पाेर्चुगलले लिएकाे थियाे । कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए पनि लगातार आत्मघाती गोल गरेपछि पहिलो हाफमा जर्मनी २-१ गोल अन्तरले अघि बढ्यो ।

खेलको १५ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उनले जोटाले पेनाल्टी क्षेत्र भित्र दिएको पासमा गोल गरेका थिए । जर्मनीविरुद्ध उनको यो पहिलो गोल हो ।

त्यसअघि खेलको पाँचौ मिनेटमा रोबिन गोसेन्सले गोल गरेपनि उक्त गोलले मान्यता पाएन । गोलअघि क्रस आउने क्रममा नै फरवार्ड सर्ज गनाब्री अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता पाएको थिएन ।

खेलको ३५ औं मिनेटमा जर्मनीले खेल बराबर बनायो । रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रबाट गरेको क्रस पोर्चुगलको डिफेन्डरलाई लाग्दै गोल भएको थियो । हाभर्ट्जलाई रोक्ने प्रयासमा डियासको क्लिअरेन्स गोल भएको थियो ।

त्यसको ३ मिनेटपछि नै जर्मनीले आत्मघाती गोलमा अग्रता लियो । जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोको क्लिअरेन्स गर्ने प्रयास आफ्नै पोस्टमा छिरेपछि पोर्चुगल पछि परेको थियो ।

पहिलो हाफमा २-१ गोल अन्तरले अघि बढेको जर्मनीले दोस्रो हाफमा पनि दुई गोल थप्यो । खेलको ५१ औँ मिनेटमा हाभर्टजले गोल गर्दैै जर्मनीलाई ३-१ ले अघि बढाए । गोसेन्सको क्रसलाई हाभर्ट्जले वान टचमा गाेल गरेका थिए ।

खेलको ६० औँ मिनेटमा जर्मनीले गोल अन्तर फराकिलो बनायाे । पेनाल्टी क्षेत्रबाट किम्मिखले दिएको क्रसलाई फार पोस्टमा अनमार्क रहेका गोसेन्सले हेडरमार्फत गोल गर्दै ४-१ काे अग्रता दिलाएका थिए ।

खेलको ६७ औँ मिनेटमा जोटाले गोल गर्दै ४-२ गोल अन्तर घटाए । गुरेरोको फ्रिकिकलाई रोनाल्डोले फार पोस्टबाट जोगाएपछि आएको पासमा जोटाले गोल गरेका थिए । त्यसपछि दुवै टाेलीबाट थप गाेल हुन नसक्दा खेल जर्मनीले जित्याे ।

योसँगै पहिलो खेलमा फ्रान्ससँग हार बेहोरको जर्मनी दोस्रो स्थानमा उक्लिएको छ  । पराजति पाेर्चुगल भने तेस्राे स्थानमा रहेकाे छ । जर्मनी र पोर्चुगलकाे समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल पछि परेकाे हाे । पहिलो खेलमा पोर्चुगलले हंगेरीविलाई पराजित गरेको थियो ।

२ खेलमा ४ अंक जोडेको फ्रान्स शीर्षस्थान तथा हंगेरी १ अंक जोड्दै चौथो स्थानमा रहेको छ । समूहको चारै टोलीको अर्को चरणमा पुग्ने सम्भावना रहेको छ ।