मेलम्ची बाढीको आंशिक क्षति विवरण सार्वजनिक : २३ बेपत्ता, पुल र सडक तहसनहस

मेलम्ची बाढीको आंशिक क्षति विवरण सार्वजनिक : २३ बेपत्ता, पुल र सडक तहसनहस

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीबाट बेपत्ता भएकाहरुको यकिन विवरण सार्वजनिक भएको छ । शनिबार हेलम्बु गाउँपालिकाले बाढीबाट बेपत्ता भएका २३ जनाको विवरण सार्वजनिक गरेको हो ।

बेपत्ताहरुको विवरणमा गाउँपालिकाबाट ४ महिला र १९ पुरुष बेपत्ता भएका छन् । बेपत्तासँगै क्षति विवरण पनि सार्वजनिक गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी विष्णुहरी तिमिल्सिनाका अनुसार बाढीले बेपत्ता हुनेहरुमा हल्देका ३५ वर्षीय सुनिल तामाङ, ३५ वर्षकै पूर्ण तामाङ, ५० वर्षका कामी तामाङ, उनकी ८० बर्र्षीया आमा नोकी तामाङ रहेका छन् ।

त्यसैगरी नाम नखुलेको एक जना ३५ वर्षीया महिला र उनका २ वर्षीय एक छोरा, ३१ वर्षीय माधव भण्डारी, चुरेटार १ का ४२ वर्षीय गणेश ज्योति, २३ वर्षीय सुरेन्द्र नेपाल, पाल्चोक सेराकका ६६ वर्षीय दिकुमारी खड्का, ५० वर्षीय च्याङ्बा तामाङ, उनकी ४५ वर्षीया श्रीमती काली तामाङ्ला बेपत्ता रहेका छन् ।

यस्तै, हल्देकै ४६ वर्षीय भिम प्रसाद भण्डारी, ९० वर्षीय तस्वीर तामाङ, हेलम्बु चनौटेका ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, मेलम्ची खानेपानी बाँधस्थल अम्बाथानका काम गर्ने चाइनिज ३ जना, भारतिय ३ जना र नेपाली २ जना गरी ८ जनालाई बाढीले बेपत्ता पारेको विवरण गाउँपालिकाले सार्वजनिक गरेको छ ।

बाढीबाट भएको भौतिक क्षतिको विवरणबारेमा पनि गाउँपालिकाले आंशिक विवरण सार्वजनिक गरेको छ । पूर्ण विवरण केही दिनमै सार्वजनिक गर्ने गाउँपालिकाले बताएको छ ।

यस्तो छ, क्षति विवरण :
हेलम्बु गाउँपालिका वडा नं.१ को तिम्बुमा रहेको मेलम्ची खोला पुल बाढीले बगाएको छ ।

दङतोम्बा मोटरेबल पुल पनि बाढीले बगाएको छ ।

बाढीले चोक्पु र मेलम्चीघ्याङ जोड्ने नवनिर्मित पुल बगाएको छ ।

वडा नं. २ चनौटे चुरेटारको रातो पुल उच्च जोखिममा रहेको छ ।

वडा नं. १ को सर्काथली झोलुङ्गे पुल बाढीले बगाएको छ ।

च्याम्भेदो झोलुङ्गे पुल पनि बगाएको छ ।

हेलम्बु गाउपालिकाको वडा नं. ४ र वडा नं. ३ जोड्ने ग्याल्थुम तोरिश्वारा झोलुङ्गे पुल बाढीले बगाएको छ ।

त्यस्तै, वडा नं. २ र वडा नं. ७ जोड्ने चनौटे झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।

वडा नं. १ र वडा नं. ६ जोड्ने चालिचे च्युरिखर्क झोलुङ्गे पुल बाढीले बगाएको छ ।

वडा नं. २ र वडा नं. ६ जोड्ने थापाटार झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।

वडा नं. ७ को इचोक जाने बाटो पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

यसैगरी काठमाण्डौ–मेलम्ची न.पा हुँदै हेलम्बु आउने सडकको ढुङ्ग्रे बजार खण्ड करिब ३०० मिटर बगरमा परिणत भएको छ ।

चनौटेदेखि गणेशेम्म को करिव ७०० मिटर, भूमेश्वारी तितेखानी खण्ड करिब ५०० मिटर र किउल–तिम्बु– अम्बथाङ ५ कि.मि. सडक पूर्ण रुपमा बाढीले बगाएर बगरमा परिणत भएको छ ।