कट्टरपन्थी नेता इब्राहिम रईसी इरानकाे नयाँ राष्ट्रपतिमा निर्वाचित

कट्टरपन्थी नेता इब्राहिम रईसी इरानकाे नयाँ राष्ट्रपतिमा निर्वाचित

इरानकाे नयाँ राष्ट्रपतिमा कट्टरपन्थी नेता इब्राहिम रईसी निर्वाचित भएका छन् । राष्ट्रपति पदका लागि भएकाे निर्वाचनमा उनी ६२ प्रतिशत मत ल्याएर विजयी भएका हुन् ।

बीबीसीका अनुसार रईसी हाल इरानका वरिष्ठ न्यायधीश हुन् र उनी अत्यन्तै रुढीवादी/कट्टर विचारधाराका मानिन्छन् । रईसीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । उनी राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णय गर्ने न्यायाधीशमा पर्छन् ।

साठी वर्षीय धर्मगुरु रइसीले आफ्नो व्यावसायिक जीवनको अधिकांश समय अभियोजनकर्ताको भूमिका निर्वाह गर्दै बिताएका छन् । सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि उनले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ति पाएका थिए ।

उनी आफूलाई भ्रष्टाचार विरुद्धको अभियन्ता र इरानको आर्थिक समस्या समाधान गर्ने नेतृत्वकर्ताको रुपमा चिनाउँछन् । इरानमा सर्बोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ भने राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ।

अब रइसीको नेतृत्वमा इरानमा कट्टरपन्थी एउटा शुद्धतावादी इस्लामिक सरकार गठन गर्ने कोसिस हुने अनुमान गरिएकाे छ । त्यसको अर्थ भनेको सामाजिक गतिविधिमा थप नियन्त्रण, महिलाका लागि कम स्वतन्त्रता र रोजगार, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कडा नियन्त्रण हुने बिबिसीले लेखेकाे छ । कट्टरपन्थीहरू पश्चिमा विश्वलाई शङ्काको दृष्टिले हेर्छन् । तर रइसी र सर्वोच्च नेता खामेनेई दुवै इरान अन्तर्राष्ट्रिय परमाणु सम्झौतालाई बिउँताउनुपर्ने पक्षमा रहेको ठानिन्छ ।