महाकालीमा पानीको बहाव बढ्यो, नदी किनारका बस्ती जोखीममा

महाकालीमा पानीको बहाव बढ्यो, नदी किनारका बस्ती जोखीममा

दार्चुला । लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ । 

    २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ । नदीमा पानीको बहाव सोमबार बिहान चारमिटर नौ सेन्टिमिटर रहेकामा बेलुका केही घटेर तीन मिटर ९० सेन्टिमिटर पुगेको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख राजकुमार घिमिरेले बताउनुभयो । तर फेरि पानी पर्न शुरु भएका कारण पानीको बहाव अझै बढेर जाने खतरा रहेको छ ।
 
    महाकाली नदी किनारका सुन्सेरा, हुती, दत्तु लाली, उकुलगायतका बस्तीमा त्रास फैलिएको छ । महाकालीको डरले नदी किनारका नागरिक राति नसुतेरै बस्ने गरेका छन् । महाकालीको डरले रात भर जाग्राम बस्ने गरेको मालिकार्जुन गाउँपालिका–७ का निर्मला चन्दले बताउनुभयो । 
 
    नदीमा पानीको बहाव बढेसँगै नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । महाकाली नदी किनारमा पर्ने सीमावर्ती क्षेत्रका प्रहरी चौकीलगायत सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट समेत सशस्त्र प्रहरीलाई खटाइएको छ । पानीको बहाव बढेसँगै तत्काल जानकारी गराउन तथा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिई सशस्त्र प्रहरी परिचालन गरिएको गुल्मपति अम्बिकाप्रसमद जोशीले जानकारी दिनुभयो । 
 
    लगातारको वर्षाले जनजीवन प्रभावित बने पनि अहिलेसम्म मानवीय क्षति वा ठूलो पहिरो र बाढीको घटना नभएको प्रहरीले जनाएको छ । लगातार पानी पर्ने क्रम जारी रहेका कारण महाकालीमा बाढी आउने आंशका गरिएको छ । भारतको खोतिला क्षेत्रमा गत वर्ष गएको सुख्खा पहिरो अहिले नेपालको बंगाबगड क्षेत्रमा असर गर्ने सम्भावना रहेको छ । खोतिला क्षेत्रमा खसेको पहिरो महाकाली नदीमा आएका कारण नेपालको बंगाबगड क्षेत्रमा जोखिम रहेको छ । 
 
    नेपालतर्फको नदी किनारमा पक्की तटबन्ध निर्माण गरिएको भए पनि सो क्षेत्रमा खसेको पहिरोले गर्दा ठाउँ साँगुरो भएको तथा पानीको बेगले कटान गर्नसक्ने तथा महाकालीको पानी बंगाबगड बजारसम्म आउने खतरा रहेको छ । 

    यसैबीच, लगातारको वर्षाले ठाउँठाउँमा सडक भत्किँदा दार्चुला— तिंरक सडकखण्ड अवरुद्ध भएको छ । दार्चुला—तिंकर सडकखण्डअन्तर्गत श्रीबगड, राताकाठा सडक खण्डको दुई÷तीन स्थानमा माथिबाट पहिरो खस्दा मान्छे हिँड्न नमिल्ने गरी सडक भत्किएको छ । 
 
    अवरुद्ध सडक स्थानीयले ट्र्याक्टर प्रयोग गरी खुलाएको भए पनि पुनः पहिरो खस्दा अवरुद्ध बनेको हो । भारी वर्षाका कारण ग्रामीण भेगका बाटो घाटोसमेत भत्किएका छन् । 

    जिल्लाका अन्य क्षेत्रमा पनि वर्षा भइरहेको छ । पाँच वर्ष अघिको विनाशकारी बाढीबाट प्रभावित बनेका दार्चुलावासी यसपालिको वर्षात्मा पनि बाढी आउने भन्दै त्रसित बनेका छन् । महाकालीमा पानीको बहाव बढेपछि स्थानीयमा फेरि बाढी आउने त्रास बढेको हो ।