मुलुकभर ‘भारी’ वर्षाको सम्भावना, आज कहाँ-कहाँ बाढीको जोखिम ?

मुलुकभर ‘भारी’ वर्षाको सम्भावना, आज कहाँ-कहाँ बाढीको जोखिम ?

मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी रहेको छ । मनसुनी वायुकै प्रभावले आज मुलुकका विभिन्न स्थानमा ‘भारी’ वर्षा र केही स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

अहिले पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो र राति प्रदेश १, प्रदेश २ तथा वाग्मती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । यस्तै प्रदेश १, प्रदेश २ तथा वाग्मती प्रदेशका एकदुई स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

आज कहाँ–कहाँ बाढीको जोखिम ?

आज बिहानको मापनानुसार महाकाली र यसका सहायक नदीमा पानीको बहाव सतर्कता तह आसपास रहेको छ । कोसी, नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको र सबैमा बहाव सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज महाकाली र यसका स–साना सहायक नदीमा बहाव बढ्ने र केही साना नदीमा बहाव सतर्कता तह पार गरी खतरा तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । उक्त क्षेत्रका स–साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज कोसी जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव बढ्दो हुनेछ । केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्नेछ ।

महाशाखाले आइतबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनानुसार आज कन्काई, कमला, वाग्मती जलाधारका केही स–साना सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्नेछ । पश्चिम राप्ती, तिनाउ, बबई र यसका सहायक नदीमा बहाव बढ्दो हुने र केही स–साना नदीमा सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, परासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, कञ्चनपुर, कैलाली, डडेलधुरा, बैतडी, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव बढ्दो हुनेछ । केही आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ ।