महाकाली राजमार्ग पुनः अवरुद्ध

महाकाली राजमार्ग पुनः अवरुद्ध

लगातारको वर्षाले सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ। राजमार्गको बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो।

गएराति १ बजेदेखि राजमार्ग अवरुद्ध भएको त्यहाँबाट से१ख १३३३ एमबुलेन्सका चालक धनेश जोशीले जानकारी दिए।  उनले भने, “सडक माथिबाट पहिरो खसेको छ, राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।” राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रु अलपत्र परेका छन्।

अवरुद्ध राजमार्ग जेसिबीको सहायताले खोल्ने प्रयास भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए। उनले भने, “गाउँपालिकाको जेसिबी लिएर जाँदैछौँ, लगातारको वर्षाले केही समस्या गर्लाजस्तो छ।

यसअघि शनिबार अपराह्न सुर्नया गाउँपालिका–३ धरमघर नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकामा बेलुका सञ्चालनमा ल्याइएको थियो। केही दिनदेखिको लगातारको वर्षाले यहाँका राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भइरहेका छन्।