बाजुरामा निषेधाज्ञा खुकुलो पारिँदै,पसल तथा बजार खोल्न दिने निर्णय

बाजुरामा निषेधाज्ञा खुकुलो पारिँदै,पसल तथा बजार खोल्न दिने निर्णय

बाजुरामा असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो पारिने भएको छ। आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी को बैठकले बिहान ६ देखि अपरान्ह ६ बजेसम्म पसल तथा बजार खोल्न दिने निर्णय गरेको हो। जिल्लामा कोरोना भाइरसको संक्रमणदर कम हँदै गएको भन्दै अर्को सुचना जारी नभएसम्मका लागि निषेधाज्ञा खुकुलो पारिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।
अब मंगलबारबाट होटल, मदिरा र सैलुन बाहेकका पसलहरु खुला राख्न पाइने छ। जिल्लाभित्र सवारी साधन सञ्चालन गर्न पाइने छ भने सरकारी तथा गैरसरकारी कार्यालयहरुले भीडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गर्न सक्ने निर्णय गरिएको बताइएको छ।
त्यस्तै कुनै स्थानीय वा वडामा कोरोना संक्रमण बढेको पाइए सम्बन्धित स्थानीय तह वा वडाले निषेधाज्ञामा कडाइ गर्न सक्ने छन्। विद्यालयका हकमा भने विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणका लागि स्थानीय तहले आवश्यक निर्देशन एवम् अनुगमन गर्ने साथै वैकल्पिक विधिबाट अध्ययनअध्यापन गर्न सकिने निर्णय भएको जनाइएको छ।