सुदूरको कोरोना कमाण्डका ‘हिरो’ डा. निराजन !

सुदूरको कोरोना कमाण्डका ‘हिरो’ डा. निराजन !

धनगढी । लगातार झण्डै  १५ महिना कोरोना महामारीविरूद्ध ‘पहिलो स्थान’ मा रहेर काम गर्दा सबैभन्दा बढी उनलाई केही कुरा व्यक्तिगत पिरलो थियो भने त्यो “परिवार” थियो । 

अवकाश पछि छोरा बुहारी, नाति, नातीना सँगै रमाउन रहर गदै धनगढी आएका आमाबुवा, नाबालक छोराछोरीका बिचबाट उठेर कोरोना संक्रमितको उपचारमा जानु र राती अबेर फेरि त्यही परिवारका बिच फर्किनु उनको दैनिकी बन्यो, करिब १५ महिनाको यो अवधि ! 

“एकातिर परिवारका वृद्ध आमाबुवा र छोराछोरी, अर्कोतिर कोरोनाका बिरामीहरू”, दुवैलाई सँगै जोगाउने बाहेक उनीसँग अर्को कुनै सुविधा उपलब्ध थिएन । 

दैनिक चुनौती थपिएका थपियै, संक्रमित थपिएका थपियै, यसको बिचमा परिवार र पेसा दुबैलाई सुरक्षित र सन्तुलित बनाउन भन्दा ठुलो कुरा अरू के हुन सक्छ र ? डा. निराजन शर्मा पौड्याल यसका भुक्तभोगी हुन् । उनी ड्युटी सकेर घर गए पनि छुट्टै बस्छन् । घरमै भए पनि परिवारबाट अलग छन् । 

‘कहिलेकाहीँ अति हुँदा उसलाई (छोरा) टाढैबाट हेरेर चित्त बुझाउँछु, उनी भन्छन्, ‘यस्तो समयमा अधिकांश स्वास्थ्यकर्मीको अवस्था पनि मेरो जस्तै छ।’  उनीसँगको कुराकानीमा कोरोना बारे भोगाई लिइरहँदा उनको आवाज घरी उत्साही, घरी भावुक सुनिन्छ ।

उनले कुनै पनि बेला संक्रमित हुने जोखिमसँगै बेतुकका अफवाहहरूसँग निरन्तर जुझ्नुपरेको छ । उनको बोली कर्तव्य पालना गर्दाको सन्तुष्टि र निराशाको ‘मिश्रण’ बनेको छ ।

सेती अस्पतालका एक जना अव्वल ‘कोरोना कमाण्डर’ हुन डा. निराजन । उनी महामारी सुरु भएयता अविच्छिन्न रूपमा कोरोना विरुद्धको मोर्चा सम्हालिरहेका छन् ।  

कोरोना महामारी नियन्त्रण र उपचारमा अहोरात्र खटिएका र अव्वल मानिएका डा. निराजन सुदूरपश्चिमको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत वरिष्ठ फिजिसियन हुन् ।सेन्ट जेभियर्स स्कुल काठमाडौ बाट आधारभुत अध्ययन सकेका डा. निराजन फिलिपिन्स बाट पढाई सकेर नेपाल फर्केका उनी काठमाण्डौमा केही समय  नेपालकै सुविधा सम्पन्न अस्पतालमा काम गरिसकेपछि सुदूरपश्चिम हानिएका हुन् । 
कोरोना कमाण्डका 'हिरो' 

चीनको वुहान सहरमा डिसेम्बर २०१९ मा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । विश्वव्यापी रूपमा फैलिएको कोभिडको पहिलो लहर २०७६ चैत्र महिनामा धनगढी पुग्यो । खाँडी बाट आएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का अमृत शाही आफूलाई संक्रमण भएको शङ्का गर्दै  अस्पताल पुगे नभन्दै उनलाई कोरोना पुष्टि भयो र शुरुभयो कोरोना त्रास।

शाहीमा कोरोना पुष्टि भए सँगै उनको उपचारमा जान अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी डराइरहेका थिए, स्वाभाविक पनि थियो नेपालमै सुरुवाती ‘केश’, जताततै त्रास मात्रै, पटक पटकमा आउने नयाँ अफवाह । स्वास्थ्य सतर्कता अपनाउन अस्पतालमा ‘सुरक्षा कवच’ पर्याप्त थिएनन् । र अन्ततः डाक्टर निराजन तयार भए संक्रमीतलाई उपचार गर्न, त्यसपछि मात्र अन्य कार्यरतहरू उपचारका लागी तयार भएका हुन् । 

उनका अनुसार पहिलो केस भेटिँदा अस्पतालको माहोल केही खलबलिए पनि डरको वातावरण बनेन । किनकि, उनी (संक्रमित) आएको र समाजमा धेरै घुलमिल भएको धेरै समय भएको   ।

पहिलो केस भेटिएको केही दिनपछि संक्रमणका केशहरू बढ्दै गए । उनीलाई जाँचबुझ र काउन्सिलिङ गरेर आइसोलेसनमा राख्ने, उपचारका लागी बन्दोबस्त गर्ने सबै काममा डा. निराजन नै थिए । उनी यो बिचमा पटक पटक ‘एक्सपोज’ भएका छन् भने कत्ती पटक उनको टिम नै केही दिन ‘आइसोलेट’ हुन परेको छ   ।

कोरोनाको ‘पिक’ चलिरहँदा उनी दिनको १८ घण्टा र हप्ताको सातै दिन अस्पतालमा रहन थाले । कार्यरत अन्य केही चिकित्सकहरू घर बिदामा हुँदा उनी लगातार संक्रमितको बिचमा बसेर खट्नुपर्ने भयो । लगातार १५ महिनायता लगातार एउटै दिनचर्यामा रहेका उनी निको भएका बिरामीहरूको प्रतिक्रियाले बलियो बन्ने गरेको बताउँछन् । उनी भन्छन्,“निको भएर जाँदा बिरामी र उनको आफन्तमा देखिने खुसीले थप ऊर्जा दिन्छ ।” सिकिस्त बिरामी निको भएर जाँदा अस्पतालको माहोल भावुक हुन्छ । दीर्घ रोगी र वृद्धवृद्धाले ‘बाँच्छु जस्तो लागेको थिएन, बचाइदिनुभयो’ भनेको सुन्दा मन आनन्दित हुन्छ । मेहनतले सम्मान पाउँदा अझ मेहनत गर्न प्रेरणा मिल्छ । 

यो बिचको समयमा कोरोना त्रास यती थियो कि, मानिसहरू गम्भीर अवस्था नभई अस्पताल जाँदैनथे । अस्पताल पुगेकालाई पनि ज्वरो र सामान्य खोकी छ भन्नासाथ गेटबाटै फर्काइन्थे र  उनीहरू पनि सेती अस्पतालमा नै पुग्ने गर्थे । सेतीमा कार्यरत भन्ने बित्तिकै धनगढीमा डेरा बाट समेत निकालिएको समाचार नै आयो । यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल के भयो होला सहजै अनुमान गर्न सकिन्छ । 

कोरोनाको पहिलो लहरका बेला सबै अस्पतालले रुघाखोकी लगायत रोगका बिरामीलाई पनि सेती अस्पताल पठाउँदा थामी नसक्नु भीड बढेको थियो । त्यसमा पनि  हुँदाहुँदै संक्रमित, शंकास्पद संक्रमित सबैलाई एउटै वार्डमा राखेर उपचार गर्नुपर्ने स्थिति आयो । उनीहरूको नियमित निगरानी डा. निराजन सहितकै टिमले गरेको थियो ।

उपचारको क्रममा बिरामीसँग एक किसिमको भावनात्मक सम्बन्ध बनाउने डाक्टरका रूपमा उनले आफ्नो परिचय बनाएका छन् । बिरामीको मनस्थिति, अवस्था बुझेर उपचार गर्दा गुनासोको ठाउँ नरहने उनको मान्यता छ । 

बिरामीलाई डाक्टरको हाउभाउले महत्त्वपूर्ण भूमिका खेल्दछ । यस्तोमा एकसाथ ‘क्लिनिकल’ र ‘ साइकोलोजिकल’ विधि अपनाउँदा उपचार प्रभावकारी हुने उनको अनुभव छ  । 

सेतीमा कार्यरतहरूको घरबेटीले कोठामा पस्न नदिएको अनुभव धेरैसँग छ । स्वास्थ्यकर्मीलाई उचित प्रोत्साहनका लागी पटक पटक सरकार र प्रशासनलाई घचघच्याउनेमा डा. निराजन पनि एक हुन् ।  

दैनिक अस्पतालमा खटिरहेका उनलाई थकान,व्यक्तिगत समय र पारिवारिक रमाइलो गर्न पनि रहर छ तर उनको भनाई अनुसार डाक्टरसँग थाक्ने अधिकार हुँदैन ।

सेती प्रदेशको एक मात्र रेफरल अस्पताल भएकाले कहिले मध्यरातमा बिरामी ल्याइन्छ  ‘कुनै बिरामीलाई राति गाह्रो भए दौडिँदै आउनुपर्छ, ।  यस्तो बेला उनको परिवार र श्रीमतीले दिने साथ र प्रोत्साहन लाई उनी सम्झिन्छन, भन्छन् "मेरो हरेक काममा पार्टनर (श्रीमती) ले एकदम साथ दिएर मात्र मैले यो सब गर्न सम्भव भएको हो।" 

अस्पतालमा रात बिरात काम गर्ने उनी एक्लो स्वास्थ्यकर्मी भने होइनन् । यहाँको अनेक विभागसँग जोडिएका मेडिकल र अन्य स्टाफहरू छन् जो निरन्तर खटिने गर्छन् । 

चिकित्सक एवं स्वास्थ्यकर्मीले महामारीका समयमा ‘यो भन्दा कहालीलाग्दो अवस्था आउँछ भनेर मानसिक रूपमा तयार हुनको विकल्प छैन।’ उनी भन्छन् ।

स्वास्थ्यकर्मीलाई मानसिक रूपमा बलियो बन्न अस्पतालको भौतिक तयारीले पनि सघाउन पर्ने उनको धारणा छ । महामारीले जति सकस दिएको छ, त्यति नै अस्पताल विकासमा सघाएको छ उनको अनुभव छ । 

निजी अस्पतालमा खर्च धान्न नसक्नेहरूले सेतीमा आएर ज्यान बचाएका छन् । यस्तै चिकित्सकहरूको सेवा तथा व्यवस्थापकीय सबलताले सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन भन्ने धारणा परिवर्तन हुँदै गएको छ । 

कोरोनाको दोस्रो लहर पनि अव बिस्तारै घट्दै गएको छ, जनजीवन सहज बन्दै गएको छ तर पनि कोरोनाको तेस्रो लहरका लागी तयारी अवस्थामा बस्नुपर्ने सचेतना पनि आम नागरिकमा पुराउन पर्ने छ । डा. निराजन अर्को लहरको कोरोना कस्ता रूपमा आउने हो र कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेमा अहिले बाटै मानसिक रूपमा तयार हुनुपर्नेमा जोड् दिन्छन् ।