केन्द्रीय समिति बैठक : १४ स्थानीय तहका जनप्रतिनिधि माओवादीबाट निष्कासित

केन्द्रीय समिति बैठक : १४ स्थानीय तहका जनप्रतिनिधि माओवादीबाट निष्कासित

नेकपा (माओवादी केन्द्र’ले नेकपा (एमाले) प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गरेको छ । सोमबार बसेको माओवादी केन्द्रको आकस्मिक केन्द्रीय समिति बैठकले एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो ।

माओवादी केन्द्रले सिरहाको लहान नगरपालिकाको कार्यपालिका सदस्य समतीलाल दास ताती, महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फरुक, कैलालीको भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटा, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ का वडाअध्यक्ष सुरेश कुमार थापालाई कारबाही गरेको हो ।

त्यस्तै, कैलालीको गौरीगंगा नगरपालिका–४ की वडाध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका–४ का वडाध्यक्ष पुरन विसीलाई पनि कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ ।

यसैक्रममा रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा, देवाहीगोनाही नगरपालिका उपप्रमुख परिनया देवी, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाललाई कारबाही गरेको माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै, फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह र यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहलाई पनि कारबाही गरिएको छ ।

माओवादी केन्द्रका अनुसार १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई निष्कासन गरिएको पत्र आजै निर्वाचन आयोगलाई बुझाइने भएको छ ।