नेपालमा अपराध भारतमा अड्डा !

नेपालमा अपराध भारतमा अड्डा !

नेपाल तर्फ अपराध गरेर पारि अर्थात भारतमा अड्डा जमाएर बस्ने घटना मधेसका लागि अनौठो होइन । २०६३ साल पछि मधेसमा आतंक मच्चाएको अपहरणका घटनामा अड्डा पारि (भारत) पुष्टि हुँदै आएको छ । अपहरणकारी लुक्ने सुरक्षित स्थान र अपहरितलाई लुकाउने सुरक्षित स्थान पारिका गाउँ बन्दै आएको हो ।

चैत २७ गते सिरहाको बरियारपट्टी–५ जिझौल गाउँका ३१ वर्षीय युवक सोमनाथ यादवलाई अपहरण गरी पारिकै गाउँमा राखियो। पारि नै हत्या गर्यो। र, यादव अपहरण तथा हत्यामा संलग्नहरूमध्ये सातजना सीमावर्ती भारतीय बजारबाटै पक्राउ परेका छन्। जसले सीमा वारी अपराध गरेर पारि अड्डा जमाउने घटनालाई पुष्टि गर्छ। यस प्रकृतिका घटना यसअघि पनि हुँदै आएको छ।

नेपाल-भारत खुल्ला सिमानाका कारण अपराधी सजिलै लुक्दै

हत्या, अपहरण, बलात्कार, लागुऔषध कारोबारलगायत जघन्य अपराध गर्ने अभियुक्त नेपालका सुरक्षाकर्मीको आँखा छल्दै सीमावर्ती भारतीय क्षेत्रमा लुक्दै आएका छन्। प्रहरी अधिकारीका अनुसार खुला सीमाका कारण यताका गाउँमा अपराध गरेर अपराधीलाई भारतका विभिन्न क्षेत्रमा उम्किन सजिलो भएको छ। ‘आपराधिक घटनालगत्तै प्रहरी घटनास्थल पुग्दा पनि अपराधी सीमा काटिसकेको हुन्छ,’ सिरहाका एसपी पाण्डे भन्छन्, ‘सीमा पार गरेपछि भारतीय प्रहरीको अनुमतिबिना खोजबिन गर्न नपाइने भएकाले उसलाई लुक्न सजिलो हुन्छ। उता अपराधी निर्धक्क घुमफिर गरे पनि पक्राउ गर्न मिल्दैन।’ यही कानुनी जटिलता बुझेर नेपालमा अपराध गरेको व्यक्तिले भारतमा ‘अड्डा’ जमाउने गरेको उनको बुझाइ छ।

नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दाबीचको नातासम्बन्ध कतिपय अपराधीका लागि सुरक्षित आश्रयस्थल बन्दै गएको प्रहरी अधिकारीको भनाइ छ। ‘मधेसी गाउँ–सहरका अधिकांश मानिसको नातासम्बन्ध भारत, बिहारसँग जोडिएको छ। नातासम्बन्धको यही आवरणमा अपराधीलाई लुक्न सजिलो भएको छ,’ एसपी पाण्डेले भने।

नेपाल-भारत प्रहरीबीच सकारात्मक समन्वय

भारतको सुपौल जिल्लाका प्रहरी प्रमुख एसपी मनोज कुमार भन्छन्, ‘सोमनाथ अपहरण तथा हत्या प्रकरण अनुसन्धानले नेपाल तथा भारतका प्रहरीबीचको सकारात्मक समन्वयलाई पुष्टि गरेको छ। नेपाल तथा भारत दुबैतिर गम्भीर अपराधका घटना घटाएर वारिपारि लुकाछिपीको खेल खेल्दै आएका अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सफल भएका छौं।’ उनले यो नेपाल र भारत दुवैतिरका प्रहरीको सकारात्मक प्रयासले सम्भव भएको उनले बताए।

सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधि सञ्चालन गर्ने अपराधीले कहाँ, कसरी लुक्ने भन्नेबारे पहिल्यै योजना बनाइसक्ने पाइएको प्रहरी अधिकारीको विचार छ। ‘आपराधिक घटना भएको केही बेरमै अपराधी पारि भाग्ने गरेका छन्,’ एसपी पाण्डेले भने, ‘पारिका अपराधीको हकमा पनि यही अवस्था छ।’ भारतमा अपराध गरेर सीमावर्ती नेपाली गाउँमा अपराधी लुक्ने गरेको घटनाबाट भारतीय प्रहरी आजित हुने गरेको छ। उसले नेपालमा आश्रय लिइरहेका अपराधी समात्न सहयोग गरिदिन कानुनी रूपमै नेपाल प्रहरीलाई आग्रह गर्ने गरेको छ। सीमाक्षेत्रका नेपालका जिल्लामा समकक्षी भारती प्रहरीसँग सुदृढ सम्बन्ध बनाइए अपराधी समात्न गाह्रो नहुने एसपी पाण्डेको धारणा छ। ‘हामीले पनि उता ९नेपाल०का अपराधी पक्राउ गर्न यहाँ सहयोग गर्छौं,’ उनले भने, ‘भारतीय प्रहरीले पनि उता लुकेका यताका अपराधी पक्रन मद्दत गर्छन्।’

मोस्टवान्टेड रामकुमारको नेपाल–भारत अपराध शृंखला

सिरहाको धनगढीमाई नगरपालिका ५ गोठटोल घर भई हाल भारतको सुपौल जिल्ला बस्दै आएका ४१ वर्षीय रामकुमार यादव उर्फ आरके माथि भारत तथा नेपालमा गरी १७ वटा अपराधका मुद्दा दर्ता छन्। तीमध्ये सिरहा जिल्ला प्रहरी कार्यालयमा मात्र १३ वटा अपराध मुद्दा दर्ता रहेको एसपी पाण्डेले बताए।

२०७७ साल पुष ७ गते सुखिपुर नगरपालिका ७ मा प्रहरीलाई लक्षित गरी विस्फोट गराएको घटनामा उनीमाथि विस्फोटक पदार्थ तथा संगठित अपराधमा मुद्दा दर्ता छ। त्यसै गरी ०७५ साल साउन ६ गते राजकुमार यादवको जाहेरीमा उनीमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ। ०७५माघ ९ गते प्रहरी साहायक निरीक्षक वीरबहादुर कार्कीको जाहेरीमा उनीमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता छ। ०७७ चैत १ मा मालपोत कार्यालय लहानमा गराइएको बम विस्फोटको आरोपमा उनीमाथि विस्फोटक पदार्थ, ज्यानमार्ने उद्योग, हतियार तथा खरखजाना र संगठित अपराध मुद्दा दर्ता छ।

रामकुमारमाथि सिरहामा मात्र नभई भारतको फुलपरास थाना, लौकाही थाना, खुटौना थानामा गरी चार मुद्दा दर्ता रहेको सुपौलका एसपी मनोज कुमारले बताउनु भयो । अपराध गरेर उम्कन सिपालु रामकुमार पक्राउ पकरण रोचक छ।

सोमनाथको अपहरणपछि हत्या गरी उनी सुपौल जिल्लाबाट भारतको गुडगाउँ भागेका थिए। गुडगाउँ स्थित एक उद्योगमा कामदारको रूपमा कार्यरत रहेका उनलाई सुपौल प्रहरीको विशेष टोलीले पक्राउ गरेको एसपी मनोज कुमारले बताए। उनीमाथि इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी भएको थियो।

सिरहा प्रहरी प्रमुख एसपी हीरा बहादुर पाण्डेका अनुसार सोमनाथ हत्यासहित अन्य १३ वटा अपराध मुद्दाका फरार प्रतिवादी रहेका रामकुमार भारतमा बसेर एकपछि अर्को अपराध घटाउँदै आएका थिए। प्रहरीलाई छल्दै अपराध गर्दै आएका उनलाई पक्राउ गर्न प्रहरी मुख्यालयको सहयोगमा इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गर्न गलायौं एसपी पाण्डेले भने, ‘नोटिस जारी भएपछि भारतीय प्रहरीले उनको खोजी तीव्र पार्यो। र, भारतको गुडगाउँबाट पक्राउ गर्न सफल भयो। ‘उनलाई अहिले मधुवनी जिल्ला प्रहरीको हिरासतमा राखेर कारबाही चलाइएको छ। मधुवनी जिल्लामा उनीमाथि मुद्दा दर्ता रहेकोले हामीलाई बुझाइएन,’ एसपी पाण्डेले बताउनु भयो ।

सेल्टर दिएवापत ५० हजार

वारिबाट अपहरित व्यक्तिलाई सुरक्षित सेल्टर दिएवापत पारिका गाउँका व्यक्तिले ५० हजार लिने गरेको खुलेको छ। बरियारपट्टीबाट अपहरित सोमनाथलाई दश दिनसम्म भारतको सुपौल जिल्ला अन्तर्गत निर्मलीका उमेश यादवको घरमा राखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उमेशले अपहरित यादवलाई सेल्टर दिए वापत ५० हजार लिएको प्रहरीसमक्ष बयान गरेका छन्।