वीरगञ्जस्थित ‘नारायणी वयोधा अस्पताल’ गैर कानूनी रुपमा सञ्चालनमा रहेको खुलासा

वीरगञ्जस्थित ‘नारायणी वयोधा अस्पताल’ गैर कानूनी रुपमा सञ्चालनमा रहेको खुलासा

वीरगञ्जस्थित ‘नारायणी वयोधा अस्पताल’ गैर कानूनी रुपमा सञ्चालनमा रहेको खुलासा भएको छ । शहरी विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि बनाइएको भवन मापदण्ड अनुरुप रहेको वा नरहेको सम्बन्धमा सिफारिस गर्नुपर्नेछ, तर हालसम्म ‘नारायणी वयोधा अस्पिटल’को संरचना मापदण्ड अनुरुप नभएको कोरण सिफारिस गरेको छैन ।

नारायणी वयोधा हस्पिटल प्रालिद्वारा सञ्चालित सो अस्पतालले हेलिप्याड बनाएको भएतापनि ‘एरोड्रम अथोरिटी’ले अनुमति नदिएको कारण हालसम्म कुनै पनि हेलिकप्टर त्यहाँ अवतरण भएको छैन । यता नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विरेन्द्र प्रधानले पनि ‘नारयणी वयोधा अस्पताल’ले सञ्चालनको अनुमति नपाएको कागजातले पुष्टि गरेको बताएका छन् ।

त्यस्तै, अस्पतालका सञ्चालक अशोक वैद्यले समेत अस्पताल सञ्चालनको अनुमति प्रक्रियामा रहेको बताउदै विस्तृत जानकारीका लागि सीडीओ कार्यालयमा सम्पर्क गर्न भनेका छन् । सञ्चालक बैद्यको भनाइ अनुसार पनि ‘नारायणी वयोधा अस्पताल’ गैर कानूनी रुपमा सञ्चालनमा रहेको थप पुष्टि भएको छ ।

तर, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने यसबारे नोटिस आफूलाई नभएको बताएका छन् । साथै उनले मन्त्रालयसँग सोधेर जवाफ फर्काउने बताएका छन् ।

यसरी अस्पताल सञ्चालनको अनुमति नै नपाएको नारायणी वयोधा अस्पिटलमा उपचारका क्रममा १६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । अनुमति नै नपाएको अस्पतालमा कुनै पनि नागरिकको मृत्यु भएको खण्डमा ज्यान मुद्दा लाग्ने अधिवक्ताहरुको भनाइ छ ।

के अब गैर कानूनी रुपमा सञ्चालनमा रहेको नारायणी वयोधा अस्पिटलमा उपचारका क्रममा ज्यान गुमाएका १६ जनाले न्याय पाउलान् त ? अहिले यो जनचासोको विषय बनेको छ ।

त्यसोत, ‘मल्टी स्पेसलिस्ट’ डाक्टरहरुको टिमले सञ्चालनमा ल्याएका ‘नारायणी वयोधा अस्पताल’को लापरवाहीका कारण कोरोना संक्रमितको ज्यान जानुका साथै पाँच जना चिकित्सकहरुमा पनि संक्रमण पुष्टि भएको थियो ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले केही दिन अगाडि मात्रै नारायणी वयोधा अस्पतालको अनुगमन समेत गरेको थियो । तर, मेयर विजय कुमार सरावगीको दबाबका कारण आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन नसकिएको बताइएको छ ।

यसअघि स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाकी निर्देशक डा.मनिषा रावलले मिति २०७६/२/२० मा ‘नारायणी वयोधा अस्पताललाई आवश्यक प्रक्रियामा रहेको भन्दै पत्र पठाएकी थिइन् । त्यसपछि पनि अस्पतालका सञ्चालकहरुले पत्रकार सम्मेलन गरेर विभिन्न बैंकसँग सम्झौता गरी उपचारमा भारी छुट दिने प्रचारबाजी समेत गरेका थिए ।