विपद् व्यवस्थापनको लागी सम्बन्धित सबै निकाय सँग हातेमालो गर्दै अगाडि बढेका छौँ : उप-महानगर प्रमुख वड

विपद् व्यवस्थापनको लागी सम्बन्धित सबै निकाय सँग हातेमालो गर्दै अगाडि बढेका छौँ : उप-महानगर प्रमुख वड

धनगढी । बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्र वात पश्चात् अहिले मनसुन पनि सुरु भइसकेको छ । कैलाली जिल्लामा पनि बर्सातमा हुन सक्ने विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको लागि सबै अङ्गलाई उच्च सतर्कतामा राखिएको छ। जिल्लामा बर्सेनि बाढी पहिरोले धनजनको ठुलो क्षति हुँदै आएको र चालु वर्षको मौसम पूर्वानुमान गरी सबै निकाय तथा अङ्गलाई हाई अलर्टमा राखिएको बताइएको छ । 

मनसुन सुरु भएसँगै कैलालीका पालिकाहरू पनि वर्षामा हुनसक्ने सम्भाव्यताको न्यूनीकरणमा जुटेका छन् । जिल्लावासी तथा पालिकावासीहरूलाई सुरक्षित र विपद् न्यूनीकरणका लागि कैलालीको धनगढी उप-महानगरपालिका लगायतका कैलालीका स्थिानियतहहरु पनि पूर्व तयारी थालेको छन् । 

वर्षाको समयमा बाढी, डुबान, नदी कटान जस्ता प्राकृतिक विपद् आइपर्ने हुँदा जोखिम न्यूनीकरणको पूर्व तयारी थालिएको धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृप ब वडले बताउनु भएको छ । नगर प्रमुख वडले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशनअनुरूप यसपालि यस अवधिमा बढी वर्षा हुनसक्ने भएकाले बाढी, डुबान नदी कटान लगायतका घटनाको प्रतिकार्यका लागि नगरभित्रका सम्पूर्ण व्यवस्थापन सँग सम्बन्धित निकायहरू सँग समन्वय गरेर विपद्को अवस्थामा उद्धारमा खट्ने जनशक्ति लगायतको तयारी थालिएको बताए । उहाँले भन्नुभयो, 'धनगढी उप-महानगरपालिका लगायत विपद् व्यवस्थापन सम्बन्धी सम्पूर्ण निकायहरू, रेडक्रस, सुरक्षा निकाय लगायतका सम्बन्धित निकायहरू सँग सहकार्य समन्वयमा राखेका छौँ । साथै वडाहरूको हकमा वडा अध्यक्षको संयोजकत्वमा सम्बन्धित वडाको सुरक्षा निकाय सँग समन्वय गरेका छौ । र विद्यालयको खाली परिसर तथा कक्षाकोठा समस्या आइहालेमा प्रयोग गर्ने गरी सहमति गर्नुका साथै सुरक्षाका साधन हरू उद्धारको लागी प्रयोग हुने सामग्रीहरू चुस्त दुरुस्त राख्न निर्देशन दिएका छौँ ।' उहाँले धनगढीखबरलाई भन्नुभयो । 

त्यस्तै, धनगढी उप-महानगरपालिकाका डुबान पर्न सक्ने र विगतका वर्षहरूमा डुबानमा परेका वडाहरू डुबानमा नपरून् भनी वर्षको तिन पटक खोला तथा नालीहरूको निरन्तर सरसफाइ गरिरहेको बताउँदै उप-महानगर प्रमुख वडले कुनै पनि वडामा त्यस्तो समस्या आई परेमा नगरपालिकाको सरसफाइ टिम तम्तयार अवस्थामा रहने हुँदा नगरपालिकामा अथवा सम्बन्धित वडाको वडा अध्यक्ष तथा अन्य वडा प्रतिनिधीहरुलाई खबर गर्न पनि आग्रह गर्नुभएको छ । भने विपद् कति बेला कसलाई आइलाग्छ केही थाहा नहुने हुँदा बर्खाको समयमा सचेत रहन पनि आग्रह गर्नु भएको छ ।